
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई अरिङ्गाल जस्तै बन्न निर्देशन दिएसँगै सामाजिक सञ्जालमा अरिंगालको चर्चा चल्यो ।
प्रतिपक्षी सरकारविरुद्ध उत्रिएको भन्दै ओलीले आफ्ना कार्यकर्तालाई अरिङ्गालजस्तै एकैपटक आक्रामक बन्न निर्देशन दिए । उक्त भनाइपछि सामाजिक सञ्जालमा अरिङ्गाल फोटो राख्ने क्रम चल्यो । सामाजिक सञ्जालमा आलोचना र वहस भएपछि ओलीले आफ्ना कार्यकर्तालाई मौरी जस्तै बन्न निर्देशन दिए ।
यसैबीच अहिले अरिङ्गालको व्यवसाय गर्दै आएकी म्याग्दिकी सिर्जना भट्टचन चर्चामा रहेकी छिन् । उनले पछिल्लो समय अरिङ्गालवालीको पहिचान बनाएकी छिन् । नगरपालिका–७ वीरेन्द्र चोककी भट्टचनको अरिङ्गाल व्यापार फस्टाउँदै गएको छ ।
लामो समयदेखि बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् ।
दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि उनले पछिल्लो तीन महीनादेखि अरिङ्गालको व्यापार गर्दै आएकी छिन् । महिला उद्यमी पुष्पा पुनको सल्लाहमा उनले यस्तो व्यवसाय गरेकी हुन् ।
म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतमले पोेलेर ल्याउने अरिङ्गाल सिर्जनाले मानाको एक हजार ५०० मा खरीद गद आएकी छिन् ।
शुरुमा त दुई हजारसम्म तिरेर अरिङ्गाल खरीद गरिएकामा अनुकूल याममा भने एक हजार ५०० सय मानामा पाउने गरेको उनी बताउँछिन् ।
सिर्जनाले ग्राहकलाई अरिङ्गाल तारेर लसुन प्याज राखी प्रतिप्लेट ५०० बेच्छिन् । अहिले यसैको व्यापारमा भ्याइनभ्याइ भएको उनको भनाइ छ ।
होटलमा अरिङ्गाल खाने कसरी आइपुगे त ग्राहक ? भन्ने प्रश्नमा सिर्जना भन्छिन् “यो सब फेसबुकको कमाल हो । मैले फेसबुकमार्फत नै यसको प्रचार गरे । त्यहीबाट यसको व्यापार बढ्न थाल्यो ।”
शुरुमा मैले ‘अरिङ्गाल राखेर खाने होर ’ भन्ने स्टाटस राखे, त्यसपछि ‘अरिङ्गालको नयाँ व्यावसाय’ भन्दै पोष्ट गरेँ त्यसलगत्तै ‘फष्टाउँदै छ अरिङ्गाल व्यवसाय’ भन्दै अरिङ्गालको फोटो राखेकीले यसैबाट व्यवसायले गति लिन थाल्यो ।
“अहिले त काठमाडौँ र पोखराबाट समेत अरिङ्गालको माग बढिरहेको छ तर मागअनुसार पु¥याउने सकेकी छैन ”उनले भनिन् । सिर्जनाले दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार गर्ने गरेको बताइन् ।
“विशेष गरी अरिङ्गाल खान आउने सौखिन, चिसो लागेका र रक्तचाप कम भयो भन्नेहरु छन् ।” उनले भनिन्, “अरिङ्गाल भन्ने बित्तिकै धेरै डराउँथे तर यही नै व्यवसायका रुपमा आजकाल फष्टाउँदो छ । यसलाई व्यावसायिकरूपमा पाल्न सके अझै राम्रो हुँदै जाने देखिन्छ ।”
अरिङ्गाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी विम–७ भारबाङ मालिका गाउँपालिका २६ वर्षीय रिमबहादुर गौतम भन्छन्। “एक दिन गाउँमा एक गुरुङ थरका व्यक्ति अरिङ्गाल खोज्दै आए, हामीले अरिङ्गाल पोलेर दिएपछि उनले खाँदै यसबाटै आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । आफ्नो शरीरमा अरिङ्गाल खाएपछि मात्रै पसिना आउने थालेको उनले जानकारी दिए । त्यसपछि विभिन्न रोग भएकाले पनि अरिङ्गालको खोजी गर्दै आउन थालेकाले यसको माग बढ्न थाल्यो ।”
गौतमले आफूहरु दुईभाइ मिलेर अरिङ्गाल व्यापार गर्न थालेको बताउँछन् । “अहिले त एकदमै माग बढ्दो छ तर अरिङ्गाल पाउनै गाह्रो छ” अरिङ्गाल खोज्न एक दिनको बाटोसम्म हिँड्नु परेको उनको अनुभव छ । ठूलो घारबाट ३३ माना जति अरिङ्गाल निकालेको र ४० हजार जति कमाएको रिमबहादुरको भनाइ छ ।
उनी भन्छन् “अरिङ्गाले टोक्ने भएकाले अलि गाह्रो हुन्छ होला यसलाई व्यावसायिक रूप दिन । पछिल्लो समय यसको माग बढ्दै गएको छ अब कृषि विज्ञले कुनै सल्लाह दिएभने गर्ने सकिन्छ कि !”