
विराटनगर – १ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्नेबारे नेपाल कम्युनिस्ट पार्टीभित्र मत बाँझिएको छ ।
विराटनगर राजधानी बनाउने पक्षमा केही सांसद देखिएको भएपनि पहाडी जिल्लाका सांसदले प्रदेशको राजधानी ईटहरी आसपास हुनुपर्ने प्रस्ताव नेकपा प्रदेश संसदीय दलको बैठकमा राखेका छन् ।
सोमवार दिउँसो विराटनगरको फन एण्ड फुड रिसोर्टमा भएको नेकपा संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीको विषयमा छलफल भएको छ । छलफलको क्रममा पहाडी जिल्लाका सांसदले ईटहरी आसपास राजधानी हुनुपर्ने बताएपनि अरु सांसद भने विराटनगर नै राजधानी हुनुपर्ने पक्षमा देखिएका छन् । नेकपा संसदीय दलभित्र नै राजधानीको बारेमा अन्तर्विरोध देखिएको छ ।
संसदीय दलको बैठकपछि प्रदेशको राजधानी पहिलो चरणमा प्रस्तावको रुपमा लैजाने प्रदेश सरकारको तयारी अनुसार सांसदसँग राय लिने काम भएको हो । बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री शेरधन राईले सबैको धारणा सुनुवाइ भइरहेको अवस्था रहेको बताए ।
उनले राजधानी अन्यत्रै लैजाने विषयमा भएको हल्लाले अहिले भइरहेको गृहकार्यलाई नै असर पार्ने खालका गतिविधि हुन लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले राजधानी कतै जान सक्ने अवस्था नरहेको र यसैलाई स्थायित्व गरेर अन्य शहरलाई समेत सम्बोधन गर्ने गरी स्थायी राजधानी तोकिने बताए ।
बैठकमा सबै सांसदले आफ्नो धारणा राख्ने काम भएपछि त्यसैको आधारमा प्रदेशको नाम र राजधानीको प्रस्ताव संसदमा लैजाने उनले बताए । प्रदेशमा नेकपाको दुईतिहाई रहेकाले प्रदेशको स्थायी राजधानी र नाम तोक्नको लागि सहज हुने अनुमान गरिएको भएपनि नेकपाभित्रै मत बाँझिएपछि समस्या देखिएको छ ।
तर, अबको केही दिनभित्रै प्रदेशको नाम र राजधानीको विषयले संसदमा प्रवेश पाउने देखिएको छ । १ नम्बर प्रदेशको नाम कोशी, सगरमाथा तथा किराँत प्रस्तावको रुपमा आएको छ भने स्थायी राजधानी विराटनगर, ईटहरी र विराटनगर आएको छ ।