
काठमाडौं– मंगलवार विहान ५ बजेको थियो, मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा एउटा इन्धन बोक्ने ट्याङ्कर रोकियो ।
ना ४ ख ३९६९ नम्बरको ट्याङ्करमा चालक ३८ वर्षीय प्रह्लाद ठकुरी एक्लै थिए । ५–७ जनाको संख्यामा गाडीमा आएका व्यक्तिले ट्याङ्कर रोकेपछि प्रह्लाद आत्तिए । ट्याङ्कर रोक्नेमध्ये केहीले वकीटकीमा कुरा गरेको सुनेपछि आफूलाई प्रहरीले रोकेको शंका लागिसकेको थियो प्रह्लादलाई ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा उक्त ट्याङ्करमाथि निगरानी बढाएको थियो । ब्यूरोलाई प्राप्त सूचनाअनुसार ट्याङ्करमार्फत गाँजा तस्करी हुँदै थियो ।
ट्याङ्करमा तलासी गर्दा प्रहरीले २ सय ९५ किलो गाँजाको चिप्पड फेला पार्यो । प्रहरीले गाँजासहित प्रह्लाद र ट्याङ्करलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
गाँजा तस्करी गरेर १ लटमा ४० हजार कमाइ
गाँजासहित पक्राउ परेका ट्याङ्कर चालक प्रह्लाद बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगंजका स्थायी बासिन्दा हुन् ।
प्रहरीका अनुसार मकवानपुरको विभिन्न गाउँमा संकलन भएको गाँजा उनले भारत पुर्याउने जिम्मेवारी पाएका थिए । जसबाट उनले ४० हजार रुपैयाँ पाउने सम्झौता भएको बुझिएको छ ।
प्रहरीका अनुसार ट्याङ्करका ५ वटा च्याम्बरमध्ये २ वटामा पोको पारिएको अवस्थामा गाँजा राखिएको थियो ।
प्रहरीले मंगलवार बरामद गरेको गाँजाको बजारमूल्य करिब ४५ लाख रुपैयाँ भएको जनाएको छ ।
ट्याङ्करमा गाँजा तस्करी : सार्वजनिक भएको दोस्रो घटना
गत वैशाख १ गते (नयाँ वर्षको दिन) पनि प्रहरीले ट्याक्टरबाट गाँजा बरामद गरेको थियो ।
गत वैशाख एक गते नेपाल आयल निगमको थानकोटस्थित डिपोमा इन्धन झारेर नागढुङ्गाको ओरालो झरेको ना ४ ख ५३६८ नम्बरको ट्याङ्ककरबाट १६० किलो गाँजा बरामद गरेको थियो ।
लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले त्यतिबेला मकवानपुर स्थायी ठेगाना भएका गाँजा कारोबारी इमानसिंह स्याङ्बो र ट्याङ्कर चालक सोमबहादुर थोकरलाई गाँजासहित पक्राउ गरेको थियो ।
३ तहका तस्कर सक्रिय
प्रहरीका अनुसार गाँजाको कारोबारमा ३ तहका तस्करहरू सक्रिय छन् । पहिलो तहका तस्करहरू गाँजा खेतीमा लगानी गर्ने, स्थानीय किसानबाट गाँजा संकलन गर्ने तथा किसानहरुलाई गाँजा खेती गर्न उक्साउने खालका हुन्छन् ।
पहिलो तहका तस्करले किसानबाट गाँजा खेती गरेर आफूभन्दा माथिल्लो तहका तस्करसँग बिक्री गर्छन् । पहिलो तहका तस्करले किसानबाट प्रतिकिलो ५ हजारमा गाँजा खरिद गर्ने गर्छन् । उनीहरुले दोस्रो तहका तस्करलाई बिक्री गर्दा प्रतिकिलो १५ हजार रुपैयाँमा बिक्री गर्छन् ।
दोस्रो तहका तस्करले गाँजालाई चरेस उत्पादन गर्नका लागि ‘कम्प्रेस्ड’ (विशेष प्रकारले प्रशोधन गर्ने( काम गर्छन् । उनीहरूको राष्ट्रिय रुपमा विशेष सञ्जाल नै रहेको प्रहरी स्रोत बताउँछ । गाँजा कम्प्रेस्ड भइसकेपछि दोस्रो तहका तस्करले तेस्रो तहका तस्करलाई सम्पर्क गर्छन् । तेस्रो तहका तस्करहरूको अन्तर्राष्ट्रिय स्तरसम्म सम्पर्क र सञ्जाल हुन्छ ।
तेस्रो तहका तस्करकै योजनामा गाँजा नेपालबाट बाहिर तस्करी हुन्छ । तेस्रो तहका तस्करले नै कुन बाटो भएर कहाँ पठाउने भन्ने योजना बनाउँछन् । तर काम भने दोस्रो तहका तस्करले नै गर्नुपर्ने हुन्छ ।
इन्धनका धनीलाई सधैं उन्मुक्ति ?
प्रहरीले गत वैशाख १ गते र मंगलवार गरी दुईपटक इन्धन बोक्ने ट्याङ्करबाट गाँजा बरामद गरिसकेको छ । तर, ट्याङ्करका धनीको विषयलाई भने सधैं गोप्य राख्ने गरिएको छ ।
यसअघि गाँजासहित नियन्त्रणमा लिइएको ट्याङ्कर पुनः इन्धन बोक्न प्रयोग भइसकेको सूचना प्राप्त भएको छ । तर, इन्धन धनीलाई भने प्रहरीले नियन्त्रणमा लिएन् ।
मंगलवार गाँजासहित नियन्त्रणमा लिइएको ट्याङ्कर धनीको पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यद्यपि यसपटक चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान हुने ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलको भनाइ छ ।
‘इन्धन बोक्ने ट्याङ्करमा गाँजा तस्करी हुनु भनेको जधन्य अपराधको कार्य हो,’ पोखरेलले भने, ‘यसमा संलग्न कुनै पनि व्यक्तिले अन्मुक्ति पाउँदैनन् ।’