
कालीकोट- कालीकोटकाे सदरमुकाम मान्म खाँडाचक्रमा शुक्रबार १७ वटा सिसी क्यामेरा जडान गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त कार्यक्रम शुभारम्भ गर्दै छोटो समयभित्र कालीकोट सदरमुकामलाई डिजिटल प्रणालीमा जोड्न पहल गरिने जानकारी दिनुभयो ।
“मान्म अब कर्णाली प्रदेशको सुरक्षित सदरमुकाम बन्नेछ”, उहाँले भन्नुभयो, “प्रविधिको साहायताले यहाँका नागरिकको शान्ति सुरक्षामा मात्र टेवा मात्र पुग्ने छैन हरेकको असल चरित्र निर्माणमा सघाउ पुर्याउनेछ ।”
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सुर्खेत, दैलेख, जुम्ला र मुगु जाने मान्छेको आवतजावतलाई सहज बनाउन, आपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम सिसी क्यामेरा जडान गरिएको बताउनुभयो ।
जिल्ला प्रहरी प्रमुख तथाप्रहरी नायब उपरीक्षक विनोद शर्माले खाँडाचक्र नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी र स्थानीय बैंकको सहयोगमा रु ११ लाखको लगानीमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । उक्त प्रविधिको कन्ट्रोलरुम जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।