
काठमाडौं– मलेसियामा जारी आईसीसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा आयोजक मलेसियाले नेपाललाई जितका लागि १०१ रनको सामान्य लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै १०० रन बनाउन सक्यो ।
स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि मलेसियाले झिनो स्कोरमा चित्त बुझाउनु परेको छ । नेपालका लागि सन्दीपले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिए ।
मलेसियाका लागि सफिक सरिफले ४९ रन जोड्दा सायद अजिजले १३ रन जोडे । अन्य मलेसियन ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।
मलेसियालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीपले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ विकेट लिदा कप्तान पारस खड्काले एक विकेट लिए । पहिलो खेलमा म्यानमारलाई हराएको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासंग खेलिरहेको हो ।