
विराटनगर – हराउन लागेको जंगली धान विराटनगर महानगरपालिकामा फेला परेपछि वैज्ञानिकले उद्दार गरेका छन् ।
जंगली धान पहिला कोशी टप्पुमा पाउँदै आएकोमा हराएपछि पूर्वमा जंगली धान पाउनै मुस्किल थियो । तर, विराटनगर महानगरपालिका–१९ को बैजनाथपुरमा जंगली धानको ३ प्रजाति फेला परेको हो । बैजनाथपुरको मिलनचोकमा रहेको सार्वजनिक जग्गामा हराउने क्रममा रहेको जंगली धान भेटिएको स्थानीय विवेकानन्द झाले जानकारी गराएपछि राष्ट्रिय बिज बैंकबाट आएको वैज्ञानिकको टोलीले भेटिएको जंगली धानको उद्दार गरेका हुन् ।
अबको १ वर्षमा हराउने अवस्थामा पुगेको ३ जातको धान संकलन गरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय जीन बैंकमा लगिएको वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले जानकारी दिए । उनका अनुसार ३ वटा जात ओराइजा निभारा, ओराइजा रुफी पोगन र लिर्सिया धानका जातको उद्दार गरिएको हो ।
यसअघि, सुनसरीको कोशीटप्पुमा पाइएको धान ओराइजा निभारा र ओराइजा रुफी पोगन २ प्रजाति मात्र फेला परेकोमा थप अर्को जाति लिर्सिया मिलनचोकमा भेटिएको डा. जोशीले बताए । फेला परेको जंगली धान खानाको रुपमा प्रयोग गरिने धानको पुर्खा भएको डा. जोशीले बताए ।
पुर्खा धानको फाइदा
कोशीटप्पुमा पाइँदै आएको जंगली धान विगत २ वर्षदेखि हराएको छ । विराटनगरको मिलनचोकमा भेटिएको धानको जात पनि अबको १ वर्षमा हराउने अवस्थामा रहेको पाइएको छ । नेपालको पश्चिमी जिल्लामा केही बाक्लै भेटिने गरेको भएपनि पूर्वमा जनकपुर र विराटनगरमा मात्र पाइएको वरिष्ठ वैज्ञानिक जोशीको भनाई छ ।
विराटनगरमा करीब १ रोपनीमा धान भेटिएको हो । पश्चिममा चोखो धानको रुपमा समेत धानलाई प्रयोग गर्ने गरेको पाइन्छ । जंगली धान र खेती गरिने धानबीच प्राकृतिक रुपमा परागशेचनको माध्यमबाट हाइब्रीड स्वाम विकास भएकाले त्यो हाइब्रीड स्वाम ठिमाहाको रुपमा देखा पर्ने र धेरै फल्ने तथा बाला ठूला हाल्ने लगायतका फाइदा हुने विज्ञ बताउँछन् । जंगली धानमा रोगसँग लड्ने गुण भएको जिन हुने, धानमा डडुवा रोग लाग्दा यसबाट ट्रान्सफर गर्न सकिने विज्ञ तर्क छ ।
नयाँ जातको धान विकास गर्नको लागि जंगली धान र अन्य स्थानीय जातको धान नभई नहुने वरिष्ठ वैज्ञानिक दीपा सिंहले जानकारी दिइन् । प्रयोगमा रहेको धान प्राकृतिक क्रसिङबाट आएको हो ।
स्थानीय जातका धान हराउँदै जान थालेको अवस्थामा स्थानीय जातको संरक्षणसँगै जंगली धानको पनि संरक्षणको खाँचो रहेको वैज्ञानिक सिंहले बताइन् ।
स्थानीय जातको भएन संरक्षण
स्थानीय रुपमा पाइने हरेक बालीको स्थानीय जात हराउँदै जान थालेको छ । लोप हुन लागेका स्थानीय हरेक बालीको संरक्षणमा कोही पनि लागेको देखिँदैन । तर, स्थानीय तह, प्रादेशिक संरचनाको विकास भएको अवस्थामा स्थानीय जातको धान संरक्षणका लागि स्थानीय तह लाग्नुपर्ने वैज्ञानिक बताउँछन् ।
प्रादेशिक सरकारले नीतिगत तहबाट नै काम थाल्नुपर्ने वरिष्ठ वैज्ञानिक जोशीले बताए । ‘पूर्वमा पाइने स्थानीय जातको संरक्षणको लागि जुनसुकै जातको जीन बैंकले संरक्षण गर्नेछ,’ वैज्ञानिक जोशीले भने । उनले त्यस्तो स्थानीय जात भेटिए जीन बैंकलाई संकलन गरेर पठाउने वा जीन बैंकलाई खबर गर्न आग्रह गरे ।
विश्वमा पाइने २२ जातमध्ये ४ जात नेपालमा
स्थानीय जातको संरक्षण गरेर मात्र नहुने र नयाँ जातको धान विकास गर्नको लागि जंगली धान र अन्य स्थानीय जातको धान नभई नहुने विज्ञको भनाई छ । विश्वमा २२ जातका जंगली धान फेला परेका छन् । जसमा नेपालमा ४ जातको जंगली धान देखिएको छ ।
त्योमध्ये जंगली धानको ३ जात विराटनगरको बैजनाथपुरमा रहेको मिलन चोकमा पाइएको हो । विराटनगरमा जंगली धान फेला परेपछि आएको राष्ट्रिय आणुवंशिक स्रोत केन्द्र जीन बैंकबाट वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशी, वरिष्ठ वैज्ञानिक दीपा सिंह र वरिष्ठ अधिकृत सुरेन्द्र श्रेष्ठसहित आएको वैज्ञानिकले ३ जातको जंगली धान भएको पुष्टि भएपछि उद्दार गरेको थियो । उद्दार गरिएको धानको संरक्षणको लागि बर्जुताल र काशीटप्पु क्षेत्रमा संरक्षण गरिने वैज्ञानिक जोशीले जानकारी दिए ।
स्थानीय जात हराउँदै
पछिल्लो समय स्थानीय धानका जात हराउँदै गएकोमा कृषि विज्ञ चिन्तित छन् । तर, पछिल्लो समय स्थानीय तह कार्यान्वयनमा गएपछि स्थानीय जातका बालीको संरक्षण हुन्छ कि भन्ने केही झिनो आशा भने पालेका छन् ।
पूर्वमा पाइने स्थानीय जातका धानमा बिरिङ फुल, कालानिमक, ललका बासमतीसहित बासमती धानका ४–५ वटा प्रजाति, थारु समुदायमा बढी रुचाइएको अनधि लोकल धान रहेको कृषि विज्ञ डा. राजेन्द्र उप्रेतिले बताए । तराईतिर हराइसकेको केही बासमती धान पनि संरक्षणको लागि पहल गर्नुपर्ने अवस्थाको रहेको उप्रेतिले बताए ।
अहिले देखिएका धानमा रातो वासमती, काला निमक, कालो बासमती, अट्टे जर्नेलीजस्ता धान महंगो हुने भएकाले किसानलाई पनि आर्थिक उपार्जनमा सहज हुने मूल्य पनि बढी पाउने उनको तर्क छ । स्थानीय धानका जात मंसिरमा गएर पसाउने भएकाले ती धान भदौमा रोपेपनि हुने उप्रेती बताउँछन् । यसरी रोपिएको धान प्रतिबिगाहा ३ टनसम्मको खाद्यान्न फलाउन सकिने कृषि विज्ञको तर्क छ ।
कतिपय जातमा जिन्क बढी पाउने, प्रोटिन बढी हुने हुन्छ । स्थानीय धानका जात कुनै चाडसँग जोडिएर, फलानोको संस्कृतिसँग पनि जोडेर खाइने गरेकाले पनि स्थानीय जातका धान कहीँकतै संरक्षण भइरहेको उप्रेतिले सुनाए ।
धानको एसआरआई प्रविधिमा पीएचडी गरेका उप्रेतिले स्थानीय जातको धानलाई क्यास गरेर अन्तर्राष्ट्रिय बजारसम्म लगेर बेच्न सकिने हो भने प्रशस्तै आम्दानी गर्न सक्ने सुनाए ।
अहिले पनि सिराहा सप्तरीमा बेहुली धान पाउँछ । धनकुटामा अहिले पनि जर्नेली धानको खोती हुने गरेको, झापा, मोरङ र सुनसरीमा ललका बासमती धानको खेती हुँदै आएको र काला निमक धान पनि खेती हुँदै आएको उनको भनाई छ ।