२१ जेठ २०८३, बिहीबार

सुआहारामा अनियमितता : परीक्षा नदिएकालाई उत्तीर्ण गराइयो

सुआहारामा अनियमितता : परीक्षा नदिएकालाई उत्तीर्ण गराइयो

सुर्खेत–दैलेख जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा एभरेष्ट क्लब अन्तर्गत सरसफाई कार्यक्रम गर्ने भनेर आएको सुआहाराले परीक्षामा अनियमितता गरेको पाइएको  छ । वडा नं. १ देखि नौं सम्मका लागि भनेर प्रति वडा एक जना सामाजिक परिचालकको विज्ञापन गरेको सुआहाराले परीक्षा नै नदिएको व्यक्तिलाई शनिबार उत्तीर्ण गराएको हो ।

‘विभिन्न राजनीतिक दलका नेताहरुको दबाबमा परीक्षा दिएकाहरुलाई पास गर्ने कुरा हामीले सुन्दै आएका थियौं ।’ आठबीस नगरपालिका वडा नं. १ बाट सामाजिक परिचालक पदमा लिखित परीक्षा दिएकी धनसरी विकले भनिन्, ‘तर यहाँ त परीक्षा नदिएकालाई नै उत्तीर्ण गराएर हाम्रो मनोबललाई कमजोर पार्ने प्रयास गरियो ।’

उनका अनुसार आठबीस नगरपालिकामा उपस्थित नै नभएकी जानकी शाहीलाई लिखित परीक्षामा उत्तीर्ण गराइएको थियो । 
आठबीस नगरपालिकामा रहेको जनज्योती माध्यमिक विद्यालयमा परिक्षा भएको र सो परीक्षाको मुल संयोजक सुआहाराका प्रतिनिधि नवराज थापा रहेको उनको भनाई थियो । 

आठबीस नपा एक कै तारा कुमारी विष्ट थापाले परीक्षामा छनौट समिति र नगरपालिकाका वडा नं. १ वाहेक अन्य ८ वटै वडा अध्यक्षहरुको मिलेमतो रहेको आरोप लगाईन । 

आठबीस नगरपालिका एभरेष्ट क्लब दैलेख मार्फत सञ्चालित सुआहारा कार्यक्रमको दोश्रो चरण कार्यक्रम अन्र्तगत असोज ७ गते सामुदायिक खानेपानी सरसफाई तथा स्वच्छता सहजकर्ता पदका लागि दरखास्त मागिएकोमा जम्मा ११८ जनाले परीक्षा दिएका र ती मध्ये ७९ जनाले लिखितमा नाम निकालेका थिए । 

अन्यत्र भन्दा पनि वडा नं. एकको नतिजामा विवाद आएपछि आन्दोलनमा उत्रिएका परीक्षार्थीले प्रेस विज्ञप्ती निकाल्दै तत्काल आफूहरुको माग सम्वोधन गर्न र दोर्षीलाई कडा कारवाही गर्न मागसमेत गरेका छन् ।
यता, आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले उक्त परीक्षामा आफूहरुको कुनैपनि संलग्नता नरहेको बताइन् । 

आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले परीक्षा समितिको लापरवाहीका कारण त्यस्तो भएको हुनसक्ने बताए । 

यसबारेमा कुराकानी गर्न खोज्दा परीक्षा समितिका संयोजक नवराज थापासँग सम्पर्क हुन सकेन ।
 

salt training

कमेन्ट गर्नुहोस्