
काठमाडौं–संघीयताको अभ्यास शुरु भएपछि स्थानीय सरकारले यस आर्थिक वर्षमा पहिलोपटक आफ्नो बजेट बनाएका छन् । अनुभवको अभाव, कर्मचारी समायोजनमा केन्द्र सरकारको ढिलासुस्ती, ऐनको अस्पष्टतामाझ स्थानीय तहले ल्याएको पहिलो बजेटमा कस्ता योजना छनोट गरेका छन् भन्ने बारेमा प्रदेशअन्तर्गतका १०६ स्थानीय तहले विनियोजन गरेको बजेटको विवरण संकलन गरी गरिएको विश्लेषणमा स्थानीय सरकारहरुले सडक निर्माणलाई सबैभन्दा धेरै प्राथमिकता दिएका छन् ।
नमूनाका रुपमा लिइएका १०६ स्थानीय तहमध्ये ८४ वटाले सडक निमार्णका लागि सबैभन्दा धेरै बजेट छुट्याएका छन् । १२ स्थानीय तहलेमात्र शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् ।, नयाँ पत्रिकामा खबर छ ।
बाँके दुर्घटनमा ६ जनाको मृत्यु
बाँकेस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । शनिबार बिहान ट्रक र माइक्रो बस एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नंको माइक्रोबस र नेपालगञ्जबाट विपरीत दिशातर्फ जाँदै गरेको लु १ ख ७७२९ नंको ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिका–९, मुगुवा खोला नजिकै एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा एक जनाको अझै सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । मृतक सबै दाङ तुलसीपुर उपमहानगरपालिकाका छन् । मृत्यु हुनेमा ३० वर्षीय तुलसी रावत, २६ वर्षीया वसन्ती चौधरी, ४० वर्षीया नारायणी श्रीस, ३० वर्षीया दोर्णा बुढाथोकी र माइक्रो बसका चालक ३९ वर्षीय सुगन चौधरी रहेको छ ।
संसदीय उपसमितिले थाल्यो निजगढ विमानस्थल अध्ययन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लाखौं रूख काट्नु ठीक कि बेठिक बन्ने बहस भइरहेका बेला संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसबारे अध्ययन थालेको छ । पूर्वप्रधानमन्त्री माधव नेपालको संयोजकत्वमा उपसमिति बनाई अध्ययन थालेको हो ।
विमानस्थल बन्नुअघि नै ठूलो परिमाणमा रूख कटान गरी विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावविरुद्ध कांग्रेसका सांसदहरूले विरोध गरेका थिए । कांग्रेस सांसद गगन थापाको नेतृत्वमा प्रदीप गिरि, दिव्यमणि राजभण्डारीलगायतले निवेदन दिएपछि समितिले नेपालको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिलाई निजगढ विमानस्थल निर्माणलाई लिएर उत्पन्न वातावरणीयलगायत विवादको समस्या समाधानका लागि सुझाव दिन भनिएको छ ।
विमानस्थल निर्माणका लागि २४ लाख ५० हजार रूख कटानी गर्नुपर्ने ईआईए प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये पहिलो चरणमा २ हजार ५ सय ५६ हेक्टर जंगलमा फैलिएका ७ लाख ६९ हजार रूख काट्नुपर्ने प्रस्ताव पर्यटनको थियो । उपसमितिका सदस्यहरू वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा भएको विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमाथि अध्ययन शुरु गरेका छन् ।
चुरोटका ठुटा कुहाएर मल
चुरोटको ठुटालाई उपयोगी मानिँदैन । यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ । यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका छन् ।
यो नेपालमा पत्ता लागेको महत्वपूर्ण प्रविधि हो । यसका लागि उनीहरूले राजधानीका आठ होटलमा एक महिनासम्म लगाएर चुरोटका ठुटा जम्मा गर े। त्यसबाट १५ किलो चुरोटका ठुटा जम्मा भए । ती ठुटालाई होटलले सहजै नदिएपछि त्यसबापत केही पैसासमेत दिएको जीसीको भनाइ छ ।
उनीहरूले ग्राहकले पिएर फ्याँकेको चुरोटको ठुटाभित्र बाँकी सुर्तीलाई खाने एक किसिमको ब्याक्टेरिया बनाए, जुन ब्याक्टेरियालाई उनीहरूले ‘इकोलाई’ नाम दिएका छन् । यसले सुर्तीभित्र रहेको निकोटिन खाइदिन्छ । त्यसपछि सुर्तीलाई मलका रूपमा प्रयोग गर्न पनि सकिन्छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २९औँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै उहाँले विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यावहारिक शिक्षा दिइनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब कक्षाकोठाको पढाइले मात्र पुग्दैन, विद्यार्थीलाई घर गाउँमा, खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ।” शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनुपर्छ, उहाँले भन्नुभयो, “शिक्षा र प्रविधिलाई संगसंगै अघि बढाएर लग्यो भने यसले थोरै जनशक्तिबाट धेरै काम लिन सकिन्छ ।” प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार शिक्षण संस्था खोल्नुपर्नेमा जोड दिँदै शिक्षालाई देशको आवश्यकताअनुसार अघि बढाउनु पर्दछ भन्नुभयो ।
बजार पूँजीकरणका आधारमा टेलिकम अग्रस्थानमा
नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ ।
सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ । यस्तै दोस्रोमा नविल बैंक लिमिटेड रहेको छ । सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पूँजीकरण मूल्य रहेको छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको छ ।
घुससहित बौद्ध प्रहरी प्रमुख पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
विश्व टी– २० छनोट : नेपालको लगातार दोस्रो जित
आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जित निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले शनिबार आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो ।
तेस्रो खेलमा नेपालले आइतबार थाइल्याण्डसँग खेल्नेछ । त्यस्तै असोज २३ गते भूटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन् ।