
तिलोत्तमा – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले जन्मदिनको अवसरमा वृक्षारोपण गर्न सबै नगरवासीलाई आह्वान गरेको छ ।
‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’को नारा अघि सारेको तिलोत्तमाले ४३औं कार्यपालिका बैठकबाट हरियाली प्रबर्द्धनका लागि जन्मदिनमा वृक्षारोपण गर्न नगरवासीलाई आह्वान गर्ने निर्णय गरेको हो ।
हरेक नगरवासीले आफ्नो जन्मदिनमा वृक्षरोपण गरेर त्यसलाई हुर्काउँदा हरियाली प्रबर्द्धन अभियान प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ ।
नगर प्रमुख वासुदेव घिमिरेले नगरवासीले जन्मदिनको अवसरमा घर–आँगन, खाली जमिन तथा तोकिएको सार्वजनिक स्थान, वनलगायतका ठाउँमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवाहरू रोप्न सक्ने बताए ।
‘हरियाली प्रबर्द्धन अभियानमा सबै नगरवासीको सार्थक सहभागिताका लागि हामीले जन्मदिनमा वृक्षरोपण गर्न आह्वान गरेका हौं,’ नगर प्रमुख घिमिरेले भने ।
जन्मदिनमा वृक्षरोपण गर्न आह्वान गरेसँगै बिरूवाको उपलब्धताका लागि नगरपालिकाका तर्फबाट थप प्रभावकारी काम गरिने नगरपालिकाले जनाएको छ ।
‘जन्मदिनमा एउटा सामान्य फूल वा उपयोगी स–साना प्रजातिका वनस्पति रोप्दा पनि त्यसले पर्यावरण र मानव स्वास्थ्यलाई फाइदा पुर्याउँछ,’ नगर प्रमुख घिमिरे भने, ‘हाम्रो यो सार्वजनिक आह्वानले नगरवासीमा हरियाली वातावरण निर्माणमा सचेतना अभिवृद्धि गराउने विश्वास छ ।’
तिलोत्तमा नगरपालिकाले सरसफाई र हरियाली प्रबर्द्धनका लागि गत वर्षदेखि नै हरेक महिनाको १ र १५ गते अभियान सञ्चालन गर्दै आएको छ ।
वडा कार्यालय र टोल विकास संस्थाहरूले अन्य दिनमा समेत सरसफाई र हरियाली प्रबर्द्धनका कामहरू गर्दै आएका छन् । हालसम्म यो अभियान २५औं श्रृंखलामा पुगिसेको छ ।
नगरपालिकाले वातावरण संरक्षणका लागि प्लाष्टिक निषेधित अभियान समेत सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गत साउनमा वृक्षरोपण सप्ताह सञ्चालन गरेको थियो ।