
काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
छानबिन प्रतिवेदनमा प्रहरीको पर्याप्त कमजोरी औंल्याइँदै तत्कालिन एसपी (हाल निलम्बित) डिल्लीराज विष्टका छोरा किरणराज विष्टको बर्डथे पार्टीलाई शंकाको घेरामा राखिएको छ ।
प्रतिवेदनमा किरणले साउन १० गते होटल ओपेरामा आफ्नो जन्मदिन मनाउनुका साथै फोटो सुट समेत गरेको भनिएको छ र त्यहाँ सहभागी युवतीहरुको पनि प्रसंग उल्लेख गरिएको छ । यद्यपी ती युवतीहरु को थिए भन्नेबारे केही खुलाइएको छैन ।
किरणले साजन बूढाऐरसँग घरमै बसेर सामान्य ढंगले जन्मदिन मनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अझ शंकास्पद विषय के छ भने किरणले २०५४ साउन १० मा आफ्नो जन्मदिन भनेपनि नागरिकतामा भने २०५६ बैशाख १० गते उल्लेख भएको देखिन्छ ।
साजनले समितिलाई ‘ऐश्वर्य विष्ट, शिशिर तथा साथीहरुसँग आएका अन्य मैले नचिनेका केटीहरु थिए’ भन्ने बयान दिएका छन् ।
उनले उक्त दिनको आफ्नो बर्थडेमा दिदीबाहेक अरु कसैले शुभकामना दिएको थिएन भन्ने बयान दिएकाले शंकास्पद देखिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।