१२ असार २०८३, शुक्रबार

कर्णालीको विकासका लागि अध्ययन र योजना आवश्यक : सभामुख शाही

असोज २२, २०७५
कर्णालीको विकासका लागि अध्ययन र योजना आवश्यक : सभामुख शाही

सुर्खेत – कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशको विकास गर्न कर्णालीको अवस्थाका बारेमा अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘कर्णाली प्रदेशको विकासका लागि सबैभन्दा पहिले योजना बनाउन जरुरी छ,’ सभामुख शाहीले भने, ‘अनि मात्र कर्णाली प्रदेशको विकासको बारेमा काम गर्न सकिन्छ ।’ आइतवार कर्णाली खोज अनुसन्धान तथा अध्ययन केन्द्रले आयोजना गरेको २ दिने कर्णाली विकास विमर्श कार्यक्रमको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशमा थुप्रै सम्भावना रहेको बताए ।

‘कर्णालीमा सम्भावना धेरै छन्,’ उनले भने, ‘तर, के–के सम्भावना छन् भन्ने कुराको वास्तविकता पहिचान नगरी साँच्चिकै कर्णालीको विकास सम्भव नै छैन ।’ सभामुख शाहीले विकासको नमूना कस्तो खालको बनाउने भन्ने कुरामा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

‘समृद्धिको लागि उत्पादनमुखी कार्यक्रमको आवश्यकता पर्दछ । जबसम्म हामीहरू उत्पादनमूलक कार्यक्रम ल्याउँदैनौ, तबसम्म विकासको परिकल्पना गर्न  सकिँदैन,’ उनले भने, ‘अनि मात्र समृद्ध कर्णाली बनाउन सकिन्छ र दूरदराजका कर्णालीवासीले विकास निर्माणको महसुस गर्ने छन् ।’

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागि सडक तथा हवाई यातायातलाई समेत ध्यान दिनुपर्ने बताए ।

भूमि, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीको समृद्धिको लागि युवा एकजुट हुनुपर्ने बताइन् । कार्यक्रममा २ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कर्णाली प्रदेशको भाषा, संस्कृतिको विकास, सम्भावना र सीमाका विषयमा डा. दिपक गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कर्णालीको आर्थिक विकास, सम्भावना र चुनौती विषयमा सुर्खेत क्याम्पस शिक्षाका उपप्रध्यापक माधवप्रसाद खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्