२८ जेठ २०८३, बिहीबार

काठमाडौंका १० प्रहरी अधिकारीविरुद्ध घुस मागेको आरोप, कमलपोखरीका सईमाथि आन्तरिक अनुसन्धान

काठमाडौंका १० प्रहरी अधिकारीविरुद्ध घुस मागेको आरोप, कमलपोखरीका सईमाथि आन्तरिक अनुसन्धान

काठमाडौं– महानगरीय प्रहरी परिसर अन्तर्गतका प्रहरी बृत्त र प्रभागमा कार्यरत १० जना प्रहरी अधिकारीविरुद्ध घुस मागेको आरोप लागेको छ । 

पछिल्लो समय प्रहरी कर्मचारीहरु घुससहित पक्राउ पर्ने क्रम बढेपछि प्रहरीले आन्तरिक रुपमा सूचना लिने अभियान थालेपछि १० जनाविरुद्ध सेवाग्राहीबाट घुस लिनेगरेकाे आरोप लागेको हो । 

महानगरीय प्रहरी परिसरले सेवाग्राही र व्यापारीसँग पैसा असुल्ने प्रहरीको विवरण संकलन गर्न छुट्टै टोली नै परिचालन गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले मातहतका कर्मचारीले सेवाग्राहीबाट रकम लिने गरेको आरोप आएपछि अनुसन्धान थालिएको बताए । 

‘सेवाग्राहीले प्रभावकारी रुपमा सेवा नपाएको र केही ठाउँमा अनधिकृत रुपमा रकम माग भएको भन्ने सूचना पनि आएको छ,’ एसएसपी लामाले लोकान्तरसँग भने, ‘यस विषयमा बुझ्न अहिले आन्तरिक अनुसन्धान गरिरहेका छौं ।’

एसएसपी लामाले व्यापारी र सेवाग्राहीबाट घुस लिने भनेर आरोपित प्रहरी अधिकारीमाथि निगरानी गर्न विशेष टोली नै बनाएका छन् । 

उक्त टोलीले मातहतका प्रहरी अधिकारीको निगरानी गरेर एसएसपी लामालाई रिपोर्ट गर्ने गर्छ । 

कमलपोखरीका असईमाथि अनुसन्धान

महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी बृत्त कमलपोखरीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)माथि घुस लिएको आरोप लागेपछि अनुसन्धान अगाडि बढाएको छ । 

कमलपोखरीको मुद्दा शाखामा कार्यरत सईले सेवाग्राहीबाट घुस लिएको सूचना आएपछि अनुसन्धान थालिएको एसएसपी लामाले बताए । 

स्रोतका अनुसार कमलपोखरीका सईले सोमवार दिउँसो एक सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस मागेको सूचना परिसरमा पुगेको थियो । सोही सूचनाको आधारमा परिसरको विशेष टोलीले सईको कार्यकक्षमा खानतलासी समेत गरेको थियो । 

तर उनको साथबाट ४ हजार रुपैयाँ मात्रै फेला परेको स्रोतको भनाइ छ । उक्त पैसा उनले आफूले आफ्नै बैंक खाताबाट एटीएममार्फत झिकेको बताएका छन् । 

उनीमाथि थप अनुसन्धानका लागि सोमवार साँझै परिसर झिकाइएको प्रहरी स्रोतले जानकारी दियो । 
 

salt training

कमेन्ट गर्नुहोस्