२५ असार २०८३, बिहीबार

प्रदेशको स्थायी राजधानी र नाम अन्योलमा, विकेन्द्रीकरणको कुराले मुख्यमन्त्री अप्ठ्यारोमा

प्रदेशको स्थायी राजधानी र नाम अन्योलमा, विकेन्द्रीकरणको कुराले मुख्यमन्त्री अप्ठ्यारोमा

विराटनगर– एक नम्बर प्रदेशसभा बैठक आजदेखि स्थगत हुने संकेत देखिएको छ । हिउँदे अधिवेशबाट नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको एक नम्बर प्रदेश सरकारले अब बजेट अधिवेशनबाट पनि प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नसक्ने संकेत देखिएको हो ।

स्थायी राजधानी र नामको बिषयमा सहमती जुटाउनको लागि बसेको नेकपा संसदीय दलको बैठक पनि सांसदहरुले आफ्नो धारणा राखेपछि स्थगित भएको छ । राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्रीको प्रस्तावमा नेकपाभित्रै सहमति नजुटेपछि प्रदेशको नाम र राजधानीबारे निर्णय नगरी १ नम्बर प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको हो ।

विराटनगरमा मन्त्रालयहरु, इटहरीमा प्रदेशसभा र अन्य जिल्लामा सरकारका नियकाहरु विकेन्द्रीत गर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा सत्तारुढ दल नेकपाका २ जना सांसद बाहेकका सांसदले असहमती जनाएपछि राजधानीको बिषय अन्यौलमा परेको हो । राजधानी र प्रदेशको नामबारे एक सातादेखि बहस र छलफल ब्यापक भएपनि त्यसले औपचारिक प्रस्ताव अझै प्रदेश सभामा प्रवेश नै गरेको छैन । 

सदन अन्त्य गर्ने बारेमा मुख्यमन्त्री शेरधन राईले सोमबार प्रमुख सत्तापक्ष र प्रतिपक्षी दलसँग बैठक गरी औपचारिक जानकारी गराएका छन् । नामकरण र राजधानीको प्रस्ताव आउँदो हिउँदे अधिवेशनमा लग्ने गरी चालू बर्खे अधिवेशन आज अन्त्य गर्ने सरकारले निर्णय गरेको हो । नामकरण र राजधानीलाई थाँती राखेर हिउँदे अधिवेशनमा प्रस्ताव लैजाने गरी संसद अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीले बैठकमा प्रस्ताव गरेका थिए । 

त्यसमा सबैले सहमती जनाएपछि आजदेखि सदन बर्खे अधिवेशन अन्त्य हुने भएको हो । आज ११ बजे बोलाइएको संसद बैठकमा प्रदेश प्रमुखले पठाएको अधिवेशन अन्त्य गरिएको चिठी पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ ।

राजधानी विकेन्द्रीतले समस्या
सरकारले संसदको चालू अधिवेशनबाटै नाम राजधानीको टुंगो लगाउने बताउँदै आएको भएपनि त्यो प्रस्ताव नगली आजबाट प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य हुने भएको छ । प्रदेशको नाम र राजधानीबारे नेकपाभित्र फरक–फरक मत छ ।

तर राजधानी विकेन्द्रीत गर्न नहुने पक्षमा अधिकांश सांसद देखिएका छन् । बर्खे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामको बारेमा सहमती जुट्न नसक्नु नै मुख्यमन्त्री राई अफ्ठेरोमा पर्नुको कारणको रुपमा हेरिएको छ । सरकारका चारैजना मन्त्रीहरु विराटनगरमै राजधानी राख्ने पक्षमा उभिएका छन् ।

तर अधिकांश सांसद राजधानी विकेन्द्रीत गर्न नहुने पक्षमा उभिएपछि मुख्यमन्त्री राई पार्टीका शीर्ष नेतृत्वसँग परामर्श गर्न काठमाडौं गएका थिए । शिर्ष नेताबाट पनि कुनै संकेत नदेखिएपछि संसद अधिबेशन अन्त्य गर्न लागिएको हो । 

अप्ठ्यारोमा मुख्यमन्त्री
नाम र राजधानीबारे निर्णय गर्न भन्दै नेकपाको संसदीय दलको बैठक २ दिन बसेर स्थगित भएको थियो । असोज १५ र १६ गते बसेको संसदीय दलको बैठकले कुनै आधिकारिक धारणा तय गर्न सकेन । केही सांसद र मन्त्रीहरुले धारणा नराख्दै स्थगित भएको बैठकबाट ठोस निर्णय नहुने र मुख्यमन्त्रीको प्रस्ताव प्रदेशसभामा लैजाँदा पनि पारित हुननसक्ने खतरा बढेपछि मुख्यमन्त्रीले यो बिषय स्थगित गरेको  अघि बढ्ने मनस्थितीमा मुख्यमन्त्री पुगेको बताइन्छ । 

सरकारले संसद अधिवेशन अन्त्य गर्नको लागि प्रदेश प्रमुखलाई सोमबार नै पत्र लेखेको छ । अब प्रदेश प्रमुखले संसद अधिवेशन अन्त्य गर्ने पत्र सभामुखलाई आज पठाएपछि अधिवेशन अन्त्य हुनेछ । नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले चालु अधिवेशनमा नाम र राजधानीको विषय टुंगो लगाउन समय अभाब भएकोले हिउँदे अधिवेशनमा यसको निर्णय गर्ने गरी चालु अधिवेशन अन्त्य गर्न लागेको जानकारी दिए ।

मुख्यमन्त्रीले बैठक लम्ब्याएर चालू अधिवेशनमै त्यो विषय टुंगो लगाउने प्रयास गरेपनि दशैं नजिकिएको कारण पनि संसद अन्त्य गर्ने निर्णय गरेको उनको भनाई छ । प्रदेशको नाम र राजधानी टुंगो लगाउने विषय सामान्य नभएको भन्दै नेकपा संसदीय दलका उपनेता आङ्बुहाङले २ वटा संविधानसभाले किनारा नलगाएको विषयमा पर्याप्त बहस र छलफलको खाँचो रहेको बताए  । 

अब हिँउदे अधिवेशनमा सहमतिकै आधारमा यो विषय टुंगो लगाउन पहल गरिने उनको तर्क छ । प्रदेश सरकारले गएको असारमै नाम राजधानीको टुंगो लगाउने बताएको थियो । त्यसपछि साउन, भदौ हुँदै असोजभित्र त्यसको टुंगो लगाउने सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले बताउँदै आएका थिए । तर, सरकारले अन्तिम समयमा मात्र त्यसबारे छलफल थालेर प्रस्ताव नै नलगी संसद अधिवेशन अन्त्यको तयारी गरेपछि त्यो विषय अलपत्र बनेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्