काठमाडौं, १४ फागुन– सरकारद्धारा ओमनका लागि नेपाली राजदुतमा सिफारिश शर्मिला पराजुली ढकालले आफू अहिलेसम्म कुनैपनि म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गरेकी छिन् ।

म्यानपावर व्यवसायी उनलाई सरकारले राजदूत सिफारिश गरेको भन्दै व्यापक विरोध भएसँगै राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी उनले यस्तो दाबी गरेकी हुन् ।
पत्रकार सम्मेलनमा उनले भनिन्,‘यो खबरले म अत्यन्तै मर्माहत भएकी छु, मेरो कुनै म्यानपावरमा संलग्नता छैन्।’
उनले आफ्नो व्यावसाय कस्मेटिक्स वाहेक अरु केही पनि नभएको जिकिर गरेकी छिन्।
उनले कुटनीतिक अनुभवका आधारमा नै सरकारले आफूलाई राजदुत नियुक्तिको सिफारिस गरेको समेत बताइन् ।
पराजुलीद्धारा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ,‘सर्वप्रथम नेपाल सरकार र राजनीतिक दलहरुप्रति मेरो क्षमतामाथि विश्वास गरेर ओमानको राजदुतमा सिफारिस गरेकोमा आभार प्रकट गर्न चाहन्छु, एउटा नेपाली नागरिकका नाताले सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतले ममाथि गरेको विश्वासमा खरो उत्रिने वाचा गर्न चाहन्छु।’
उनले आफूले कहिल्यैपनि व्यक्तिगत स्वार्थ र फाईदाको लागि काम नगर्ने वाचा गर्दै भनिन्,‘म ओमनमा महिला दिदि बहीनीहरु धेरै हुनुहुन्छ, उहाँहरुको अभिभावकको रुपमा काम गर्नेछु, मनोवैज्ञानिक रुपमा उहाँहरुको समस्या नजिकबाट बुझ्ने काम गर्नेछु।’
उनले लोकतान्त्रिक मुलुकमा कुनै पनि सार्वजनिक महत्वको विषयमा चर्चा परिचर्चा हुनु स्वभाविक भएको बताउँदै भनेकी छिन,‘सरकारको राजदुत नियुक्तिका लागि सिफारिस भएपछि यस विषयमा पनि चर्चा परिचर्चा हुनु स्वभाविक हो । मैले यसलाई स्वभाविक रुपमा लिएकी छु, त्यसैले मेरा वारे पनि भएका चर्चा परिचर्चालाई मैले अन्यथा लिएकी छैन ।’