काठमाडौं – ललितपुरको खुमलटारस्थित प्रिमियर स्कूलमा ६ कक्षामा अध्ययनरत १२ वर्षीय साश्वत बुढाथोकीको एकल चित्रकला प्रदर्शनी भएको छ ।
कला, संस्कृति, वन, वातावरण, विश्व सम्पदामा विशेष दख्खल राख्ने उनको पहिलो पटक इन्द्रजात्रालाई लक्षित गरी २० वटा तस्वीर प्रदर्शनीमा राखिएको थियो । सानै उमेरमा फोटोग्राफीमा रुची राख्ने साश्वतले हालसम्म ५ सयभन्दा बढी फोटोे खिचिसकेका छन् ।
पढाइसँगै फोटोग्राफीमा अब्बल उनको फोटोको गुणस्तर व्यावसायिक फोटोग्राफरकै जस्तो थियो । विद्यालय परिसरमा मंगलवार आयोजना गरेको फोटो प्रदर्शनीको विद्यालयका निर्देशक पवित्रा लिम्बुले प्रदर्शनीको उद्घाटन गरेका थिए । आफ्नो विद्यार्थीको कलाको उनले खुलेरै प्रसंसा गरेका थिए ।
उनले भने, ‘हाम्रो लागि यो ठूलो उपलब्धी हो, एउटा विद्यार्थीले खिचेको फोटा प्रदर्शनीले विद्यालयको सान बढेको छ, उनी हाम्रो लागि अब प्रेरणाको स्रोत बनेका छन् । मनको आँखाले देखेको कुरा फोटोमा उतार्नु महानता र कठिन काम हो । तर, सास्वतले यो काम सजिलैसँग गरेका छन् । रहरभन्दा पनि निरन्तर प्रयासमा लागे जुनसुकै कामको पनि सफलता हासिल गर्न सकिने उनले बताए ।
फोटोग्राफर साश्वतले आफूले करीब साढे २ महिना लगाएर फोटो तयारी गरेको बताए । ‘मेरो सोख होइन, भविष्यमा उत्कृष्ट फोटोग्राफर बन्ने लक्ष्यले फोटो सुट गर्न थालेको हु,’ उनले भने । उनको एकल फोटो प्रदर्शनी अवलोकन गर्न विद्यालयका विद्यार्थीको घुइँचो लागेको थियो । शास्वतका आमा सृष्टि र बुवा सुलभ बुढोथोकीले छोराले सानै उमेरमा गरेको फोटोग्राफीको प्रसंसा गरेका थिए । दुवै जनाले छोरोको भविष्यको लक्ष्य फोटोग्राफी नै भएको बताए ।

प्रदर्शनीमा सास्वतले सबै विद्यार्थीलाई आफूले खिचेको फोटोको बारेमा जानकारी गराएका थिए । फोटोमा हनुमान ढोकाको गद्दी बैठक, दरबार क्षेत्र इन्द्रजात्रामा मात्रै खुल्ने श्वेत भैरव, इन्द्रजात्रामा जीवित देवी कुमारी दर्शन गर्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट अतिथिको तस्वीर, शार्दुलजंग गुल्म लगायत इन्द्रजात्रा पर्व झल्कने सम्पूर्ण फोटो कैद गरेका थिए ।
कार्यक्रममा विद्यालयकी निर्देशक लिम्बु र प्रिन्सिपल शिरिष श्रेष्ठलाई उनीले छनौट गरेका उत्कृष्ट तस्बीर हस्तान्तरण गरिएको थियो । सानै उमेरदेखि फोटोग्राफी सिक्दै आएका साश्वतलाई प्रशिक्षक राजेन्द्र श्रेष्ठले फोटोग्राफी सम्बन्धी प्रशिक्षण दिँदै आएका छन् ।