
काठमाडौं–प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
आजकै दिनदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । घटस्थापनामा नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।
घटस्थापनाको साइत आज बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
रामवीरको राजीनामा
काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सभामुखमार्फत राजीनामा दिनुपर्ने भएको हुँदा राजीनामाको अनुमतिका लागि पार्टीसमक्ष निवेदन दिइसकेको बताएका छन् ।
सांसद मानन्धरले भने, ‘पार्टी नेतृत्वको दवावमा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको हुँ, आगामी दिनमा पनि पार्टीले गर्ने निर्णय र जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्नेछु ।’
पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उनको संसद्मा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिएका मानन्धनले बताएका छन् ।
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता गौतमको रोहवरमा राजीनामाका लागि लिखित निवेदन दिएको जानकारी पनि दिएका छन् ।
यसैबीच नेकपाका नेता गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउने भएको कान्तिपुर दैनिकले लेखेको छ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो ।
काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन् । त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो । त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन गराउँदा २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ । यस्तै सुरक्षामा पनि उत्तीकै खर्च हुनेछ ।
संविधानविद् भीमार्जुन आचार्यले जनताले चुनेको व्यक्तिलाई राजीनामा गर्न लगाएर चुनाव गराउन खोज्नु जनताकै मतको अपमानका भएको टिप्पणी गरेका छन् ।
‘पार्टीको निजी खर्चमा चुनाव हुने होइन, जनताले तिरेको करबाट उपनिर्वाचन हुने हो,’ उनले भने, ‘कानुनी र संवैधानिक रूपमा एउटाले राजीनामा दिँदा त्यहाँ उपनिर्वाचन गराउनुपर्ने विषय गलत नहोला। तर, अहिले एउटा व्यक्तिका लागि गर्न खोजिएको प्रयत्न भने लोकतान्त्रिक व्यवस्था सुहाउँदो छैन।’
मुख्यमन्त्रीद्वारा पत्रकारलाई गाली
१ नम्बर प्रदेश सभाले प्रदेशको नाम र राजधानी नटुंग्याउँदै सभा स्थगन गरेको छ ।
गत जेठ १७ गतेदेखि शुरू भएको बर्खे अधिवेशन ५२ वटा बैठक पूरा गरेपछि स्थगन भएको हो । बर्खे अधिवेशन स्थगनको क्रममा सबै पार्टीका संसदीय दलका नेतालाई सदनमा बोल्न दिइएको थियो ।
सदनलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री शेरधन राई, कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, संघीय समाजवादी फोरमका जयराम यादव र राप्रपा सांसद ईन्दीरा राईले शुभकामनासहित सरकारको काम कारवाही तथा अहिलेसम्म भएका प्रगतिबारे बोलेका थिए ।
नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री राईले शुरूमा सरकारले अहिलेसम्म प्रदेश सरकारले गरेका कामको बारेमा सदनलाई जानकारी गराए । उनले केही समय सरकारको काम कारवाही र सरकारको अप्ठ्यारोबारे जानकारी गराएपछि मिडियातर्फ केन्द्रीत भएका मुख्यमन्त्रीले लामो समयसम्म पत्रकार तथा मिडियाप्रति केन्द्रीत भए ।
उनले प्रदेश राजधानी बनाउन बृहत् विराट क्षेत्रको कुरा अघि सारिएको बताए । ‘विराट क्षेत्र बनाएर स्याटेलाइट सिटी, स्मार्ट सिटी, टुरिज्म सिटी, औद्योगिक तथा स्पोर्ट सिटीको अवधारणा र कृषि जोनको रुपमा अगाडि बढाउने उद्देश्य अघि सारिएको भएपनि केही साँघुरो सोच बोकेकाहरूको कारण समस्या आएको छ,’ उनले भने, ‘यस्ता सोचले आफ्नो ठाउँ बनाउन सकिँदैन ।’
संविधान सभाबाट ५ वर्ष ८ महिनामा टुंगो लाग्न नसकेको प्रदेशको स्थायी राजधानी र नामको दायित्व प्रदेश सभाको काँधमा आएकाले त्यति सजिलो नरहेको उनले बताए । ‘यसलाई सरकारले सहजीकरण गरेको मात्र हो, यसको अधिकार सबै सदनमा रहेका ९३ जना निर्वाचित जनप्रतिनिधिभित्र रहेकाले यसलाई हलुका बनाएर सतहमा ल्याउने काम पत्रकारले गरेका छन्,’ उनले भने ।
सांसदलाई ‘ल्यापटप’ दिने तयारी
२ नम्बर प्रदेशका सांसदलाई ‘ल्यापटप’ दिने प्रक्रिया अगाडि बढेको छ । प्रदेशका १ सय ७ जना सांसद र सचिवालयका केही कर्मचारी समेतलाई ल्यापटप सुविधा उपलब्ध गराउन प्रदेश सभाले गृहकार्य अगाडि बढाएको छ । प्रदेशमा ६४ जना प्रत्यक्ष र ४३ जना समानुपातिक गरी १ सय ७ जना सांसद रहेका छन् ।
प्रदेशसभा सचिवालयका उपसचिव रंजित यादवका अनुसार प्रदेश सभामा काम गर्न सहज होस् भन्ने उद्देश्यले सबै सांसदलाई ल्यापटप उपलब्ध गराउन सचिवालयले प्रक्रिया अगाडि बढाइसकेको छ । १ सय ७ जना सांसदका लागि र कर्मचारी समेतका लागि १ सय २५ देखि १ सय ३० वटासम्म ल्यापटप किन्ने तयारी अगाडि बढेको उनले बताए ।
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिशमा नेपालको संविधानको धारा १६८ बमोजिम मंगलबार मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
विस्तारित मन्त्रिपरिषद्मा कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रदेशसभामा निर्वाचित सदस्य प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । रावल तत्कालीन नेकपा एमालेका नेता थिए ।
नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले मंगलबारै मुख्यमन्त्री भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नौ महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद् विस्तार भएसँगै सुदूरपश्चिम प्रदेश सरकारमा एक राज्यमन्त्रीसहित मन्त्रीको सङ्ख्या आठ पुगेको छ ।
कक्षाकोठा खोज्दै ल क्याम्पस
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ ।
करीब ५०० क्षमता भएको उक्त क्याम्पसम अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ल क्याम्पसमा चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए । त्रिवि कानून सङ्कायका डीन डा ताराप्रसाद सापकोटाले क्षमताभन्दा बढी विद्यार्थी भर्ना भएपछि पढाउनका लागि कक्षाकोठा खोजिरहेको बताए ।
भ्रष्टाचारको अभियोगमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
निवासको कप्तानीमा साफ यू–१५ टोली घोषणा
आगामी कात्तिक ८ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मंगलबार साफ यू–१५ का लागि निवास फुयालको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा जान लिम्बु, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, हृदेश ठकुरी, प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ र प्रविन मगर राकेश विक, शशाङ्क बोहरा, निराजन मल्ल, धिरज बलायर, नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई, रोशन नेपाल, रोशन मगर र विनय श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सनोज श्रेष्ठलाई दिइएको एन्फाले जनाएको छ ।
नेकपाको चियापान कात्तिक १० मा
नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ ।
पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ । पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा मंगलबार पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नं ३ कमिटी, उपत्यकास्थित कमिटी र जनसङ्गठनलाई परिचालन गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
भारतीय स्टील उद्योगमा विष्फोट
भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई स्टील उद्योगको ग्यास पाइपलाइन विष्फोट हुँदा भएको दुखद घटनामा नौ जनाको मृत्यु भएको छ भने बाँकी १४ जना घाइते भएका छन्, भारतीय प्रहरी महानिरिक्षक जिपी सिंहले सञ्चारमाध्यमलाई बताए ।
विष्फोट भएको केही समयभित्रै प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
स्थानीय प्रहरीले अकस्मात भएको विष्फोटबारे छानविन समिति बनाइएको छ ।