काठमाडौँ, १५ फागुन- त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित भएको छ । ठूला संगठनबाटै क्याम्पसहरूमा आगजनी, तालाबन्दीजस्ता गतिविधि भएपछि शनिबार अधिकांश क्याम्पसमा उम्मेदवार मनोनयन रोकिएको खबर आजको नयाँ पत्रिकामा खबर छ ।
कुन क्याम्पसमा के भयो ?
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरिएको छ । अखिल क्रान्तिकारी (प्रचण्ड)ले केन्द्रीय क्याम्पसमा एकलौटी हस्तक्षेप गरेर मतदाता नामावली सार्वजनिक गरेको भन्दै अन्य विद्यार्थी संघ–संगठनले तालाबन्दी गरेका हुन् । त्यस्तै, घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा एक साताअघि लागेको ताला अझै पनि खुल्न सकेको छैन ।
रत्नराज्यलक्ष्मी क्याम्पसमा पनि विभिन्न संगठनले शनिबार फेरि तालाबन्दी गरेका छन् । नेविसंघलगायतका संगठनहरूले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारीले अध्यक्षको उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यस्तै नेक्राविसंघले अध्यक्ष, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ ।
शंकरदेव क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको विरोधमा अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतले तालाबन्दी लगाएका छन् ।
सोह्रखुट्टेस्थि सरस्वती बहुमुखी क्याम्पसमा बिबिए तेस्रो वर्ष, बिबिएस चौथो वर्ष र मास्टर्स दोस्रो वर्षका विद्यार्थीले तालाबन्दी गरेका हुन् । बिबिएमका विद्यार्थीले आफ्नो नाम मतदाता सूचीमा छुटाएको विरोधमा पनि तालाबन्दी गरेका छन् ।
चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी वैद्य, अखिल क्रान्तिकारी विप्लवलगायतका संगठनले तालाबन्दी गरेका छन् ।
पब्लिक युथ क्याम्पस पकनाजोलमा विद्यार्थी संगठनले मतदाता नामावलीमा त्रुटि रहेको र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीले स्ववियुमा निर्वाचित पधादिकारीको म्याद २ वर्षमा नै हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका छन् ।
थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघ र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् । सो क्याम्पसमा अखिल क्रान्तिकारी र नेक्राविसंघ दुई संगठनले अध्यक्ष र सचिव पदको उम्मेदवार मनोनयन दर्ता गरेका छन् । थापाथली ई क्रान्तिकारी र नेक्राविसंघले अध्यक्ष र सचिव पदको उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।
ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी विप्लवले तालाबन्दी गरेका छन् ।
विश्वभाषा क्याम्पसमा वैद्य र विप्लवनिकटका अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विप्लव र वैद्यनिकट अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।
बागबजारस्थित पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनलगायतले तालाबन्दी गरेका छन् ।
त्रिविको कार्यतालिकाअनुसार सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर क्याम्पसमा मनोनयन दर्ता भएको छ ।
त्यस्तै, महाराजगन्जस्थित नर्सिङ क्याम्पसमा पनि उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी प्रचण्डलगायतका संगठनले मनोनयन दर्ता गरेका छन् । राजधानीका जनप्रशासन, महाराजगन्ज मेडिकल, कोटेश्वर बहुमुखीलगायतका क्याम्पसहरूमा मनोनयन दर्ता सम्पन्न भएको छ ।