०६ साउन २०८३, बुधबार

दुई नम्बर प्रदेशको संसदमा बल्ल अस्तित्वमा आयो नेकपा, सत्यनारायण मण्डल दलको नेता

असोज २४, २०७५
दुई नम्बर प्रदेशको संसदमा बल्ल अस्तित्वमा आयो नेकपा, सत्यनारायण मण्डल दलको नेता

जनकपुरधाम–  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी पार्टीबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको ६ महिना पुग्न लागिसकेको छ । तर, दुई नम्बर प्रदेशमा भने भर्खर मात्रै दुई पार्टी एक भएको औपचारिक पत्र प्रदेशसभामा पुगेको छ । 

नेकपा संसदीय दलको नेताका हैसियतमा सत्यनारायण मण्डलले प्रदेश सभामा बिगतका दुई वटा छुट्टा छुट्टै रहेको पार्टी नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेको भन्ने आधिकारिक पत्र प्रदेश सभालाई पठाएको नेकपाका सांसद सुन्दर बहादुर बिश्वकर्माले बताए ।

यस अघि लोकान्तरले प्रदेश सभामा एमाले र माओवादी पार्टीका नाममा पार्टीका पदाधिकारीहरूले सेवा सुबिधा लिइरहेको समाचार प्रकाशित गरेको थियो ।

पार्टीको प्रदेश कमिटीले गरेको निर्णय अनुसार प्रदेश सभामा नेतृत्व गर्नका लागि ४ सदस्यीय संचालन समिति गठन गर्ने र त्यसको नेतृत्व सत्यनारायण मण्डलले गर्ने भनेर निर्णय गरिएको पुर्ब एमाले तथा हाल नेकपाका सांसद बिश्वकर्माले बताए ।

प्रदेश सभामा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक जस्ता पदाधिकारी चयन हुन्छन् । तर, संचालन समिति भन्ने शब्दलाई प्रदेश सभाले त चिन्दैन नि ? भन्ने सबालमा सांसद विश्वकर्माले भने, ‘अहिले दलको नेताको रूपमा नेतृत्व गर्ने जिम्मेवारी पार्टीले मण्डल कमरेडलाई प्रदान गरेको छ । सोहीअनुसार उहाँ संसदीय दलको नेता नै रहेको कुरा पार्टीले निर्णय गरेको हो, बाँकी पदाधिकारीको निर्णय भने हुन सकेको छैन ।’

यस अघि एमालेको तर्फबाट सत्यनारायण मण्डल दलको नेता थिए भने बिश्वकर्मा प्रमुख सचेतक थिए । त्यसै गरी माओबादीको तर्फबाट रामचन्द्र मण्डल संसदीय दलको नेता र दिलिप साह प्रमुख सचेतक थिए ।

‘अहिले एकीकृत पार्टीको दलको नेता सत्यनारायण मण्डल भएको कुरा पार्टीले निर्णय गरेको छ, त्यसमा कुनै पनि साथीहरूले असहमति व्यक्त गर्नु भएको छैन,’ विश्वकर्माले भने, ‘बाँकी पद दलको विधान बनेपछि टुंगो लाग्नेछ ।’

नेकपाले भारत साहको संयोजकत्वमा सात सदस्यीय बिधान मस्यौदा समिति समेत गठन गरेको छ । उक्त समितिले दशैँ, तिहारपछि बिधान टुंग्याउने जनाइएको छ । विधान बनेपछि चार वटै पदको पनि टुंगो लाग्ने विश्वकर्माले बताए ।

संसदीय दलको बिधान बनि सकेपछि नयाँ नेतृत्वको लागि निर्वाचन पनि हुनसक्ने सम्भावना रहेको नेकपाका एक सांसदले बताए ।

प्रदेशको पार्टी नेतृत्व तहले दलको उपनेतामा रामचन्द्र मण्डल, प्रमुख सचेतकमा सुन्दर बहादूर बिश्वकर्मा र सचेतकमा दिलिप साहलाई चयन गर्ने बिषयमा छलफल शुरु गरेपनि निर्णय भने हुन नसकेको एक सांसदले बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्