०७ साउन २०८३, बिहीबार

प्रहरीको नब्बे प्रतिशत सफलतालाई पर्याप्त मान्न सकिँदैन : प्रधानमन्त्री ओली

प्रहरीको नब्बे प्रतिशत सफलतालाई पर्याप्त मान्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित स्रोत साधनका बाबजुत नेपाल प्रहरीले अमनचयन र शान्ति सुरक्षामा पुर्‍याराएको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ । ६३ औं प्रहरी दिवसका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति सुरक्षामा संयुक्त राष्ट्रसंघमा प्रहरीले खेलको भूमिकाले नेपाल विश्वको पाँचौं राष्ट्रका रुपमा चिनिन सफल भएको भन्दै प्रशंसा गर्नुभयो । 

प्रधानमन्त्री ओलीले तथ्यांकका आधारमा प्रहरीले ९० प्रतिशत अभियुक्त समात्न सफल भएपनि कुनै एक घटनामा कमजोरी देखियो भने त्यो कमजोरी परिपूर्ति गर्न गाह्रो हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘तथ्यांकले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको देखिएता पनि यसलाई पर्याप्त मान्न सकिदैन । यद्यपी यो आकडा महत्वपूर्ण आकडा हो । यो सफलता देखिएता पनि तर एउटा संवेदनशील मुद्दामा तपाईंहरु यदी असफल हुनु भयो भने त्यसले पुर्याउने क्षतिलाई सजिलै भरपुर गर्न सकिँदो रहेनछ । त्यो दृष्टान्त हामी संग छ । यसलाई मनन् गर्न आवश्यक छ।’

अपराध अनुसन्धानमा अब्बल रहेको प्रहरीले आफ्नो साख कायम राख्न अझबढी व्यवसायिकता प्रदर्शन गर्न जरुरी रहेको उहाँको भनाइ छ । ठूला राजनीतिक उपलब्धीहरु हासिल भएको भन्दै उहाँले संघीयता कार्यान्वयनका लागि प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आमनागरिकको सेवाका लागि सरकारी प्रतिनिधिका रुपमा प्रहरी नै अग्रपंतिमा रहेको उल्लेख गर्दै सरकारको प्रभावकारीता देखिने गरी घरघरमा पुग्नु पर्ने बताउनु भयो । मुलुकलाई समृद्ध बनाउन शान्ति सुरक्षा पहिलो आधार भएको बताउनु भएको छ । यसका लागि प्रहरी संगठनको प्रमुख जिम्मेबारी रहेको उहाँले बताउनु भयो ।
 

कमेन्ट गर्नुहोस्