
सुर्खेत – कर्णाली प्रदेश सरकारले चालू वर्षलाई अनुसन्धानको वर्षको रुपमा लिएको छ ।
सरकारले कर्णालीमा राजनीतिक रुपमा सबैले सम्भावना अपार भनेपनि वास्तविक रुपमा सम्भावनालाई सही या गलत के हो भन्नेबारे खोज गरिरहेको पाइएको छ ।
कर्णाली नदीमा पर्यटकीय सम्भावना र नदी आसपास रहेका विभिन्न खानीको अवस्था लगायतका विषयमा ३५ दिनदेखि विदेशी वैज्ञानिकको एक टोली सरकारले खटाएको र टोली बिहीवार दैलेखको आठबीस नगरपालिकामा पुगेको छ ।
टोलीले मानसरोवरदेखि कर्णाली प्रदेशको सीमासम्म अध्ययन गरेर सरकारलाई कर्णाली नदीबाट के कसरी र कति लाभ प्रदेश सरकारले लिन सक्छ भन्ने विस्तृत रिपोर्ट प्रदेश सरकारलाई बुझाउने छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदीमाथि अनुसन्धान गर्न विज्ञ टोली खटाएको बताए ।
‘हामीले मानसरोवरदेखि हाम्रो प्रदेशको सिमानासम्म रहेको कर्णाली नदीमाथि अध्ययन गर्न र अनुसन्धान गरी नदीबाट लिन सकिने लाभ र कमाउन सकिने डलरका बारेमा रिपोर्ट दिन विदेशी वैज्ञानिकको टोलीसँग आग्रह गरेका थियौं,’ लोकान्तरसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भने, ‘टोली दैलेखमा आइसकेको छ र टोलीलाई स्वागत गर्न शुक्रवार प्रदेश सरकारको टोली दैलेखको आठबीस नगरपालिकामा जाने तयारीमा छ ।’
‘हामी सबैभन्दा पहिले वैज्ञानिकमार्फत् यहाँका जंगलमा, खानीमा, नदीमा तथा अन्य सम्भावना बोकेका क्षेत्रमा के कति काम गर्न सकिन्छ, त्यसबारे अध्ययन गर्नेछौं,’ उनले भने, ‘सबै रिपोर्ट पाइसकेपछि हामीले ती क्षेत्रमा लगानी गरेर कर्णालीलाई समृद्ध बनाउने अभियानमा सहभागी बन्ने छौं ।’
मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले सम्भावना एकत्रित पार्ने र आगामी वर्षबाट सम्भावनालाई व्यवहारमा देखिने गरी कार्यान्वयनमा लैजाने गरी अघि बढेको जानकारी दिए ।