१० साउन २०८३, आइतबार

दशैंमा घुम्ने योजना बनाएकालाई यी हुन् प्रदेश ५ का आकर्षक ७ पर्यटकीय गन्तव्य

असोज २९, २०७५
दशैंमा घुम्ने योजना बनाएकालाई यी हुन् प्रदेश ५ का आकर्षक ७ पर्यटकीय गन्तव्य

बुटवल – हिन्दू नेपालीको महान पर्व विजयादशमीमा नजिकै आइसकेको छ । आफ्नो पेशा व्यवसाय गर्न देशका विभिन्न ठाउँदेखि विदेशमा कार्यरत नेपाली दशैंमा घर फर्किने गर्छन् ।

जन्मघर आएपछि जमघट र रमाइलो गर्ने सबै नेपालीको बानी छ । दशैंको बिदामा घर आएकाहरूको लागि घुमेर रमाइलो गर्ने अवसर हुन सक्ने यस वर्षको बडादशैं । परिवार र साथीभाइसहित दशैं बिदामा घुम्न चाहनेका लागि यी हुन सक्छन् ५ नम्बर प्रदेशका उपयुक्त घुमघाम गर्ने स्थलहरू  :-

लुम्बिनी

विश्व शान्तिको मुहान महामानव भगवान् गौतमबुद्धको जन्मभूमि यहीँ रूपन्देही जिल्लामा पर्छ । प्रदेशको मात्र नभएर विश्वका बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र पनि हो । यहाँ प्रत्येक वर्ष हवाइमार्ग र स्थलमार्ग हुँदै आन्तरिक तथा बाह्य गरी झण्डै ५ लाख पर्यटक लुम्बिनीमा आउने लुम्बिनी विकास विकास कोषको भनाइ छ । यहाँ बुद्ध धर्मालम्बी मात्र होइन, अन्य धर्ममा आस्था राख्ने मानिस पनि लुम्बिनी पुगेर घुमघाम गरी आफ्नो मनलाई शान्त बनाउन सकिन्छ । लुम्बिनीमा भगवान गौतमबुद्धको पाइला, अशोक स्तम्भ, विभिन्न गुम्बा, तालको अवलोकन गर्न सकिन्छ । अन्य महिनामा गर्मी हुने भएपनि दशैंतिहारको समयमा मौसम शितल हुने हुँदा पनि लुम्बिनी दशैंको लागि घुम्ने उपयुक्त गन्तव्य बन्न सक्छ । 

बुटवल फूलबारी

बुटवलस्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी) पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक आउने प्रमुख गन्तव्यको रूपमा विकास भएको छ । प्रत्येक वर्ष झण्डै ३ लाख पर्यटक आउने गर्छन् । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बुटवल फूलबारीमा पुग्न कुनै झन्झट छैन ।

बुटवल प्रदेश राजधानी भएसँगै फुलबारीले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्ने गरेको छ । फूलबारी पछिल्ला वर्षमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा विकास भइरहेको छ ।

१५ औं शताब्दीमा मणिमुकुन्द सेन राजाले निर्माण गरेको शीतकालीन दरबार अवशेष पनि फूलबारीमा फेला परेको इतिहासकारहरू बताउँछन् ।  १५ बिघा क्षेत्रफलमा रहेको पार्कलाई २५ बिघामा विस्तार गरी पूर्वाधार निर्माणको काम अझै राम्रो बनाउने काम भइरहेको बताउँछन् उद्यानका कार्यालय प्रमुख त्रिविक्रम बस्याल ।

कम्तिमा २ दिन समय निकालेर आउनेका लागि बुटवलको फुलबारी उपयुक्त स्थान हुन सक्छ । फुलबारीमा बाघ भालु, हरिण, जरायो, मृग, बदेल, लगायतका विभिन्न जंगली जनावरहरू पनि अवलोकन गर्न सकिन्छ ।

वनवाटिक 

त्यसैगरी, रूपन्देहीको तिलोत्तमास्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिक) पनि बुटवल, तिलोत्तमा, सैनामैना र भैरहवाका बसोसार रहेकाका लागि घुमफिर गर्ने ठाउँ बन्न सक्छ । यहाँ पनि पर्यटक लक्षित विभिन्न स्टलहरू चिडियाखानाको रुपमा विभिन्न जंगली जनावर रहेका छन् । यहाँ पनि झण्डै वार्षिक १ लाखभन्दा बढी आन्तरिक पर्यटक घुम्नका लागि आउने गर्छन् । यस स्थानमा तिलोत्तमा नगरपालिका र वनबिहारले संयुक्त रुपमा भ्यू टावर निर्माण थालेका छन् । टावर बनेपछि त्यहाँबाट भारतको गोरखपुरसम्म देख्न सकिन्छ ।

हिलपार्क

बुटवलको ७ नम्बर वडामा पर्ने हिलपार्कमा पनि अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ । बिहान मर्निङ वार्क गर्नेहरूको भीडभाड नै लाग्ने गर्छ । यसको विकासका लागि बुटवल उपमहानगरपालिकाले हिलपार्कको गुरूयोजना समेत बनाएको छ । 

शिद्धबाबा

बुटवल र पाल्पाको सिमानामा पर्ने शिद्धबाबा मन्दिर यस क्षेत्रको धार्मिक आस्थाको केन्द्र हो । यहाँ मन्दिरमा पूजाआजा गर्नेदेखि भारतको विभिन्न ठाउँमा पर्यटकहरू दैनिक घुम्नका साथै मन्दिरको दर्शन गर्न आउँछन् । मन्दिर तिनाउ नदीको तटीय क्षेत्रमा पर्छ । यहाँ दुवै तर्फबाट ठूल्ठूलो पहाडको खोचमा मन्दिर रहेकाले यहाँ शितल पाउन र घुम्नका लागि पनि उपयुक्त ठाउँ हो । 

सुपादेउराली

प्रदेशको अर्घाखाँची जिल्लामा पर्छ सुपादेउराली मन्दिर । सन्धिखर्च पुग्दै बाटोमै पर्छ मन्दिर । शक्तिपीठ मन्दिर, मनोरम प्राकृतिक दृश्य र रमाइलो गर्न मिल्ने पर्यटकीय संरचना भएकाले सधैं श्रद्धालु अनि घुमफिर गर्नेको घुइँचो लाग्छ । त्यस्ता ठाउँमा परिवार, साथीभाइ र एक्लै गएर पनि दर्शन गर्ने रुची भएका पनि मन्दिरमा गएर आनन्द लिन सकिन्छ । जिल्लामा धार्मिक र प्राकृतिक पर्यटकीयस्थल धेरै छन् ।

वरिपरि चट्टानले बनेका अग्ला २ पहाड । प्राकृतिक सुन्दरताले हराभरा पहाडको काखैमा रहेको मन्दिरको आस्थाले सबैलाई तान्ने गर्छ । हेर्दै मनमोहक मन्दिरमा भाकल र पूजापाठ गर्दा आनन्द आउने र दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक जनविश्वासले दैनिक सयौंको संख्यामा भक्तजन आउने गर्छन् ।

स्वर्गद्वारी

प्युठानको स्वर्गद्वारी पर्यटकीय गन्तव्य मानिन्छ । स्वर्गद्वारी प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट करीब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालका प्राचीन मन्दिरमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ ।  

परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान् ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ । स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभूको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । बैशाख पूर्णिमा, बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।

salt training

कमेन्ट गर्नुहोस्