
सुर्खेत – ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे समुदाय अहिले पूर्ण रुपमा परनिर्भर बनेको छ । पहिले–पहिले भाँडा बनाउने र सोही भाँडा खाद्यान्नसँग साँटेर जीवन गुजारा गर्ने राउटे समुदायलाई यतिबेला दशैं खर्च जोहो गर्न भ्याइँ–नभ्याइँ छ ।
राउटे अहिले सुर्खेतको लेकबेसी नगरपालिकामा बस्दै आइरहेका छन् । सोमवार राउटे मुखिया डिलबहादुर शाही, सूर्यनारायण शाही लगायतका राउटेहरू वीरेन्द्रनगरमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा धाइरहेका देखिए । उनीहरू दशैंका लागि खसी र चामल किन्नका लागि बजारमा पैसा माग्न आएका हुन् ।
मुखिया डिलबहादुर शाहीले भने, ‘हामी काठमाडौं पनि गयौं, यहाँका सरकारसँग पनि गयाका छौं । हामीलाई खाने चामल र खसी चाहियो ।’ दशैंमा खसी काटेर आफ्ना जनतालाई खुवाउने उनले बताए । ‘हामीले दशैंमा खसी काटेर जनतालाई खुवाउने भन्याका छौं । त्यही भएर हामी सरकारसँग पैसा, दशैं खर्च मागिरहेका हौं,’ उनले भने ।
मुखिया सूर्यनारायण शाहीले राउटे जनताका लागि दशैं मनाउने खर्चपानी जुटाउन बजार आएको बताए । ‘पहिले–पहिले हामी बस्याका ठाउँमा नै कोही गएर खाद्यान्न दिने गरेका थिए,’ उनले भने, ‘आजभोलि त्यस्तो गर्नेहरूको संख्या एकदमै कम भयाको कारण हामी सबैसँग नाप–नाप रुपैयाँ माग्न आएका हौं ।’
परनिर्भर राउटे
‘कुनै बेला राउटे समुदाय आत्मनिर्भर थियो । हातमा सीप पनि थियो । काठका धेरै सामान बनाउन जान्ने राउटेले गाउँमा आउँदा अन्नसँग काठमा सामग्री साँटेर लैजाने गरेका थिए । उनीहरूलाई कसैले पैसा दिएमा आफूलाई पाप लाग्ने बताउँदै उतिबेला राउटेले पैसा लिँदैन थिए,’ गुराँस गाउँपालिका–५ का रितेश शर्माले भने, ‘तर, अहिले हेर्दा उनीहरू पूर्णरुपमा परनिर्भर बनेका छन् । मगन्ते बनेका छन् ।’
दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिकाकी ७६ वर्षीय सिता शाहीले उतिबेलाको राउटे र अहिलेका राउटेमा आकाश पातालको फरक देखेको बताइन् । ‘उतिबेला उनीहरू जाँड बनाएर पिउने गर्थे, तर अहिले सोफी (मदिरा) दिउँसै पिएर बजार घुम्न जान्छन्,’ उनले भनिन्, ‘विभिन्न संघसंस्थाले राउटे बस्तीलाई मगन्ते बनाए । कोही आएर फोटो खिचेबापत रुपैयाँ दिने, कोही अलिकति चामल दिने, कोही पैसा दिने बानी पारेका कारण अहिले राउटे समुदायको सीप पनि धरापमा परेको छ । उनीहरू अल्छी र मदिराप्रेमी बनेका छन् ।’
‘राउटे समुदाय अहिले विकृति र विसंगतिमा फसिसकेको छ । उनीहरूले मदिरादेखि चुरोट सुर्तिसम्म खाने गरेका छन्,’ वीरेन्द्रनगरमा व्यापार गर्दै आइरहेका व्यवसायी हिरा नेपालीले भनिन्, ‘गुराँस गाउँपालिकाले अलिकति नियन्त्रण गर्न खोजेको थियो । उनीहरू बसाइ सरेर सुर्खेत आएका छन् ।’
सरकारले नै राउटे समुदायलाई कुलतमा फस्न सहयोग गरिरहेको उनले बताइन् । ‘राउटेलाई मदिरा बिक्रीवितरण गर्न नदिन राज्यले नै नीति बनाई लागू गर्न जरुरी देखियो,’ लोपोन्मुख समुदायलाई बचाउन सकिए पर्यटनमा टेवा पुग्ने बताउँदै उनले भनिन्, ‘यही कडाइ गर्न नसकिए राउटे समुदाय सकिएर जाने मलाई डर लागेको छ ।’