
काठमाडौँ– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज साँझ घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य नयाँ पालुवासमेत भित्र्याइएको छ ।
फूलपाती भित्र्याएपछि उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रह्मायणी, धानको बाला लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको विशेष पूजा गरिन्छ ।
यता गोरखा दरबारबाट ल्याइएको फूलपाति काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइएको छ ।
धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याउने चलन बसेको हो ।
यसैबीच आजै सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास्ट गरेका थिए । सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपास्टसहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष , उपप्रधानमन्त्री एवं रक्षामन्त्री, गृहमन्त्रीलगायत मन्त्री, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो ।