२१ असार २०८३, आइतबार

चित्रबहादुर केसीको कटाक्ष– ‘रेडलाईट एरिया’खोलेर कर असुलेर संघीयता चल्दैन

चित्रबहादुर केसीको कटाक्ष– ‘रेडलाईट एरिया’खोलेर कर असुलेर संघीयता चल्दैन

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन् ।उनले भने,‘यदी संघीयता खारेज नगरे मुलुकद्वन्द्वमा जान्छ र असफल हुन्छ ।’

रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले नेपालजस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरेका हुन् । प्रदेश नम्बर ४ कामूख्य मन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कटाक्ष गर्दै केसीले ‘रेडलाईट एरिया’खोलेर कर असुलेर संघीयता नचल्ने पनि बताए । 

केसीले नेपाल जोगाउनकै लागि भएपनि संघीयता खारेज गर्नैपर्ने बताए । केन्द्र सरकार र प्रदेश सरकारबीचको सम्बन्ध राम्रो हुन नसकेको भन्दै उनले प्रदेश नम्बर २ ले केन्द्रको नीतिबाहिर गएर विधेयकहरु बनाउँदा समग्र देश नै धरापमा पर्ने दावी गरे । 

“२ नम्बर प्रदेशले संघीयताको आवरणमा एक मधेश एक प्रदेश बनाउन सक्छ कि सक्दैन ?” केसीले प्रश्न गरे । ६४ सालदेखि नै राष्ट्रिय जनमोर्चाले नेपालमा संघीयता सम्भव छैन भन्दै आएपनि ठूला दलहरुले संघीय प्रणाली ल्याएको भन्दै उनले अहिले जनताले पनि संघीयता नचाहिने बताउन थालेको जिकिर गरे । 

तीन तहको सरकार निर्माण भएपछि जनतामा करको भार थपिएकाले पनि जनता आजित भएको केसीको तर्क थियो । च्याङ्ग्रादेखि साग बेच्नेसम्मलाई करको भार थोपरिएको भन्दै केसीले आपत्ति प्रकट गरे । उनले भने,‘अहिले च्यांग्रा बेच्नेलाई संघीयता के हो भनेर थाहा भैसकेको छ ।’

अनावश्यक करकै कारण संघीयता धरापमा परेको उनको तर्क थियो । एउटा नेपाल चलाउन नै कठीन भएको अवस्थामा सातवटा प्रदेश सातवटा देश जस्तो भएको भन्दै केसीले कुनै पनि हालतमा संघीयता सफलनहुने ठोकुवा गरे । 

सरकारले प्रभावकारी कामगर्न नसकेको आरोप लगाउँदै केसीले महङ्गी र कालोबजारी रोक्न नसकेको सरकारले रेल र पानीजहाजको सपना बाँडेर अलमल्याएको पनिआरोप लगाए । 
 

कमेन्ट गर्नुहोस्