
काठमाडौं –मासुमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसमा पाइने भिटामिन र प्रोटिन शरीरका लागि निकै फाइदाजनक छ ।
बढ्दो उमेरमा शरीरलाई हृष्टपुष्ट देखिन र स्वस्थ्य रहनका लागि मासुमा पाइने तत्वलाई महत्त्वपूर्ण मानिन्छ ।
यतिबेला नेपालीहरू आफ्नो महान चाड दशैंको उमंगमा रमाइरहेका छन् । दशैंमा खाइने विशेष र प्रमुख परिकार नै मासु हो । दशैं मनाउने प्रायः नेपालीको घरमा मासुको परिकार पाकेकै हुन्छ ।
पहिला–पहिला मासु खानकै लागि दशैं कुनुपर्ने अवस्था थियो । त्यसैले पनि दशैंमा मासुको महत्त्व छुट्टै थियो । तर समय बदलिएको छ । ‘दशैं आउला, खाउँला पिउँला’ भनेर मासु खान दशैं नै कुर्नुपर्ने अवस्था छैन ।
दशैं नै नआएपनि हामीले प्रशस्त मात्रामा मासु खाइरहेका हुन्छौं । अहिलेको अवस्थामा दशैंमा धेरै मासु खाँदा शरीरलाई बढी हुने वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् ।
‘हाम्रो सामाजिक, आर्थिक परिवर्तनले गर्दा मासु खान दशैं कुर्नुपर्दैन, अहिले मानिसहरू दशंै नहुँदा पनि टन्न मासु खाइरहेका छन्,’ डा. रेग्मी भन्छन्, ‘त्यसैले दशैंमा खाइने मासु शरीरका लागि ओभरलोड हुन्छ, मासु खाइरहने मानिसलाई मासु र मासुबाट पाइने तत्वहरू ५ देखि १० पटक बढी हुन्छ ।’
अष्टमीको दिन काटेको मासुलाई भुटेर, अगेना तथा घाममा सुकाएर, फ्रिजमा खारेर पुर्णिमासम्म खाने चलन छ । कतिपयले त तिहारसम्मका लागि पनि दशैंमा काटेको मासुलाई सुकुटी बनाएर राख्छन् ।
यसरी लामो समयसम्म राखेर खाइने मासु स्वास्थ्यकर नहुने डा. रेग्मी बताउँछन् ।
‘आजको भोलि नै त मासु बिग्रिसकेको हुन्छ, एक सातासम्म खाइरहँदा त स्वास्थ्यलाई असर गर्छ,’ डा. रेग्मी भन्छन्, ‘मासुको गुणस्तर कस्तो हुन्छ थाहा हुँदैन, त्यसमा पनि बासी खाँदा स्वास्थ्यलाई खतरा हुन्छ ।’
दशैंमा काटिने जनावरलाई पौष्टिक तत्व खान दिएर मोटो बनाइएको हुन्छ । खसी बोकाको शरीरमा मासुसँगै छाला र बोसो पनि हुन्छ । यसरी बोसो र छाला मिश्रित मासुलाई धेरै तेल हालेर पकाइन्छ । यसरी पकाइने मासुले स्वास्थ्यलाई असर पर्ने डा. रेग्मी बताउँछन् ।
मासु खाँदा यस्ता कुरामा ख्याल राख्नुस्
ताजा मासु खाने ।
सफा ठाउँमा काटेको, सफासँग पकाएरको मासु मात्रै खानुपर्छ ।
मासु पकाउँदा बोसो, छाला झिकेर कम चिल्लो हालेर पकाउने ।
आफैँले पकाएर खाने ।
पेट धेरै कसिने गरी नखाने ।
सकेसम्म बिहानको समयमा धेरै खाने बेलुका कम खाने वा खाँदै नखाने ।
मासु जति नै सलाद तथा फलफूल र सागपात खानुपर्छ ।
मासुको साथमा रक्सी नखाने ।
‘मासुको स्वाद मसलाले आउँछ चिल्लोले होइन, मसला, खुसार्नी हाल्नुस्, मिठो बनाउनका लागि मसला प्रयोगको मात्रा मिलाऔं, चिल्लो धेरै नहालौं,’ डा. रेग्मीले सल्लाह दिए ।