२८ जेठ २०८३, बिहीबार

अस्ट्रेलियाविरुद्ध पाकिस्तानको विशाल जीत, मोहम्मद अब्बासको उत्कृष्ट प्रदर्शन

कात्तिक २, २०७५
अस्ट्रेलियाविरुद्ध पाकिस्तानको विशाल जीत, मोहम्मद अब्बासको उत्कृष्ट प्रदर्शन

काठमाडौं – यूएईको अबु धाबीमा शुक्रवार सम्पन्न शृंखलाको दोस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानले अस्ट्रेलियालाई ३७३ रनको विशाल अन्तरले हराएको छ । यससँगै पाकिस्तानले शृंखला जितेको छ ।

जीतका लागि असम्भव ५३८ रन पछ्याएको अस्ट्रेलिया १६४ रनमै अलआउट भएको थियो । उस्मान खवाजा घाइते भएर ब्याटिङ गर्न नसकेपछि नौ विकेट खसेपछि नै अस्ट्रेलिया पराजित भएको हो ।

रन अन्तरमा पाकिस्तानको अस्ट्रेलियाविरुद्ध यो नै सर्वाधिक ठूलो विजय हो ।

पाकिस्तानको जीतमा मोहम्मद अब्बासको महत्त्वपूर्ण योगदान रह्यो । उनले पहिलो इनिङमा पाँच र दोस्रो इनिङमा पनि पाँच विकेट लिए ।

टस जितेर ब्याटिङको निर्णय लिएको पाकिस्तानले पहिलो इनिङमा सबै विकेट गुमाएर २८२ रन बनायो । उसका लागि फखर जमान र कप्तान सरफराज अहमदले समान ९४ ९४ रन बनाए । 

कुनै समयमा ५७ रनमा पाँच विकेट गुमाएको पाकिस्तानलाई यी दुईले १४७ रनको साझेदारी गरेर उकासेका थिए । 

अस्ट्रेलियाका लागि नाथन लियोनले ७८ रन खर्चेर चार विकेट लिएका थिए भने मार्नस लाबुशांगेले तीन विकेट हात पारेका थिए ।

जवाफमा ब्याटिङ गरेको अस्ट्रेलिया जम्मा ५०.४ ओभर टिकेर १४५ रनमै अलआउट भयो । उसका लागि आरोन फिन्चले सर्वाधिक ३९ रन बनाए । 

मोहम्मद अब्बासले घात बलिङ गर्दै ३३ रन खर्चेर पाँच विकेट हासिल गरे भने बिलाल असिफले तीन विकेट लिए ।

दोस्रो इनिङमा पाकिस्तानले नौ विकेट गुमाएर ४०० रनमा पारी घोषणा गरेको थियो । बाबर आजम ९९ रन बनाउँदा मिचेल मार्शको एलबीडब्ल्यूको शिकार भएर शतक बनाउनबाट चुकेका थिए ।

त्यस्तै कप्तान अहमदले दोस्रो इनिङमा पनि राम्रो प्रदर्शन गर्दै ८१ रन बनाएका थिए । फखर जमानको ६६ र अजहर अलीको ६४ रनको पनि महत्त्वपूर्ण योगदान रह्यो ।

अस्ट्रेलियाका लागि लियोनले नै फेरि राम्रो प्रदर्शन गर्दै चार विकेट हात पारे । लाबुशांगेले दुई विकेट लिए ।

५३८ रनको असम्भव लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया कहिल्यै सम्हालिएन र नियमित अन्तरमा विकेट गुमाउँदै गयो । लाबुशांगेले सर्वाधिक ४३ रन बनाए ।

अब्बासले दोस्रो इनिङमा पाँच विकेट लिए भने यासिर शाहका नाममा तीन विकेट रह्यो ।

पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो ।

दुई टेस्ट शृंखलाको समाप्तिपछि अब पाकिस्तान र अस्ट्रेलियाबीच तीनवटा टी२० खेल हुनेछन् । पहिलो टी२० बुधवार खेलिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्