
काठमाडौं–दशैंको बेलामा उपत्यकामा कम सवारी साधन चल्ने अवस्थालाई मध्यनजर गर्दै आज विजया दशमीको दिन तीन ओटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजधानीका विभिन्न रुटमा बस सञ्चालन गरेका छन् ।
नेपाली सेनाले विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले आज काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाएको छ ।
सेनाको बसको पहिलो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– कोटेश्वर– एकान्तकुना– बल्खु– कीर्तिपुर– कलङ्की– कालीमाटी– त्रिपुरेश्वर– रत्नपार्क तथा दोस्रो मार्ग भद्रकाली– जमल– लैनचौर– नारायणगोपाल चोक– बूढानीलकण्ठ– बालाजु चोक– सोह्रखुट्टे– कान्तिपथ– माइतीघर रहेको छ ।
तेस्रो मार्ग भद्रकाली– माइतीघर– त्रिपुरेश्वर– कालीमाटी– कलङ्की– थानकोट– स्वयम्भू– छाउनी (अस्पताल)– ताहाचल– टेकु– थापाथली तथा चौथो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– तीनकुने– गौशाला– चाबहिल– जोरपाटी– नारायणगोपाल चोक– लाजिम्पाट –कान्तिपथ हँुदै भद्रकाली पुग्ने रहेको छ ।
पाँचाँै मार्ग भद्रकाली– थापाथली– कुपण्डोल– जावलाखेल– सातदोबाटो– चापागाउँ– सातदोबाटो– तीनकुने– बानेश्वर– शहीदढोका हुनेछ भने छैटौँ मार्ग भद्रकाली– दरबारमार्ग–कमलपोखरी– गौशाला– चाबहिल– बौद्ध– साँखु– चाबहिल– गौशाला– तीनकुने हँुदै भद्रकाली रहेको छ ।
सातौँ मार्ग भद्रकाली– माइतीघर– नयाँ बानेश्वर– पुरानो बानेश्वर– गौशाला– सिनामङ्गल– कोटेश्वर– सूर्यविनायक– ठिमी– कोटेश्वर– माइतीघर– भद्रकाली छ भने आठौँ मार्ग भद्रकाली– माइतीघर– कोटेश्वर– सातदोबाटो– कलङ्की– बालाजु– चाबहिल– गौशाला–तीनकुने हँुदै भद्रकालीसम्म कायम गरिएको छ ।
यसैगरी नेपाल प्रहरीले नागरिकको सहजताका लागि आज पनि बस सञ्चालन गर्यो । प्रहरीले असोज ३१ गतेदेखि नै बस चलाउन थालेको हो ।
प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित भएको छ ।
यस्तै शसस्त्र प्रहरीले पनि बस सञ्चालन गरेको छ । दशैं बिदाभर निशुल्क बस चलाउने निर्णय गरेको सशस्त्र प्रहरीले आज पनि सेवा दिएको हो ।