
तुलसीपुर – दाङमा ७ सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् ।
मुक्त कमैया समाज दाङका अनुसार १ हजार ४ सय २६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७ सय ५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर, लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिएका छन् ।
सरकारले विवादित जग्गाको लालपुर्जा दिँदा मुक्त कमैयाले जग्गामा आवास र जोतभोग गर्न नपाएको उनको भनाइ छ ।
सरकारले निकै ढिलो गतिमा मुक्तकमैया व्यवस्थापन गरिरहेको भन्दै उनले अझै ३ हजार ३ सय ६५ जना मुक्त कमैयाले कुनै पनि परिचयपत्र पाउन नसकेको बताए । मुक्त कमैयाको व्यवस्थापनमा पटक–पटक आन्दोलन र दबाब दिँदै आएपनि अपेक्षित प्रगति भने हुन नसकेको बताइएको छ ।
छाडा चौपायाले बालीनालीमा नोक्सानी
छाडा चौपायाले स्थानीयवासीको बालीनाली नोक्सान पुर्याउने गरेका छन् । छाडा चौपाया व्यवस्थापन हुन नसक्दा स्थानीयवासीलाई निकै समस्या हुने गरेको छ । ती छाडा चौपायाले गाउँमा पुगेर स्थानीयवासीको धान, तोरी तथा तरकारी बालीमा समेत क्षति पु¥याउने गरेका छन् ।
रातको समयमा गाउँमा पशुचौपाया पसेर लगाएको बालीनालीमा क्षति पुर्याउने गरेको स्थानीयवासी यमुना वलीले बताए । दिनभर बजार क्षेत्रमा हुने चौपायाहरू रातपरेपछि गाउँ पस्ने गरेका छन् ।
चौपायाहरू छाडा छोड्नेलाई कुनै कारवाही नहुँदा झनै अव्यवस्थित भएको स्थानीयको गुनासो छ । तुलसीपुर उपमहानगरपालिकाले भने छाडा चौपायाले नागरिकलाई सास्ती दिएको भन्दै अब छिट्टै व्यवस्थापन गर्ने छाडा चौपाया व्यवस्थापन समितिका संयोजक कुमार लामिछानेले बताए ।