२८ जेठ २०८३, बिहीबार

दशैंपछि राजधानीमा चहलपहल बढ्दै

कात्तिक ४, २०७५
दशैंपछि राजधानीमा चहलपहल बढ्दै

काठमाडौं – दशैंपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । 

दशैंको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौं उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिवार एकैदिन १२ हजार ७ सय ८९ सवारीबाट १ लाख ७ हजार ३ सय ४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिए । आइतवार रातिसम्म सो संख्या अझै बढ्ने छ । 

यसैगरी, ७ हजार ३ सय ४८ सवारीबाट ६० हजार ३ सय ६८ यात्रु उपत्यका बाहिर गएका छन् । विजयादशमीअघि उपत्यका बाहिरिने सवारीको संख्या धेरै थियो भने हाल भित्रिनेको संख्या बढी छ ।

आइतवारदेखि सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढ्दै जाने महाशाखाले जनाएको छ । गत वर्षसम्म आश्विन शुक्ल द्वादशीका दिनसम्म सरकारी कार्यालय बिदा हुने गरेकामा यस वर्ष सो बिदा हटाइएको छ । 

मानिसको चहलपहल बढेसँगै नवदुर्गाको प्रसादका रुपमा टीका जमरा थाप्न हिँड्नेको लाम पनि सडकमा देख्न सकिन्छ । कात्तिक २ गते विजयादशमीका दिनदेखि शुरु भएको टीका, प्रसाद र जमरा ग्रहण आश्विन शुक्ल पूर्णिमाका दिन ६ कात्तिक गतेसम्म लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसदिन अखिल बलि पूर्ति अर्थात् सबै बलि दिने काम सम्पन्न गरेपछि जमरा सेलाइन्छ । 

यसैबीच, चाडबाडको मौका छोपेर बढी भाडा असुल गर्ने ५ सय १५ भन्दा बढी सवारीलाई कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले तोकेभन्दा दोब्बरसम्म भाडा लिएर पनि यात्रुलाई ठगेको पाइएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

दशैंमा उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडा असुल गरिएको गुनासो आएपछि विभागले ४ समूह परिचालन गरेर नाकामा अनुगमन गरेको थियो । कारवाहीमा परेका सवारीलाई १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्