
कपिलवस्तु – दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आइतवार साँझ निषेधाज्ञा (कफ्र्यु) लगाइएको छ ।
युवाबीच झडप भएपछि आइतवार साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (क) अनुसार आइतवार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए ।
प्रजिअ पोखरेलका अनुसार सामान्य विषय भएपनि हिंसा भड्किने खतरा आएकाले ‘कफ्र्यु’ जारी गर्नुपरेको जनाए । उनका अनुसार २ दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्काे आदेश नभएसम्मका लागि ‘कफ्र्यु’ जारी गरिएको हो ।
अर्को सूचना जारी नहुँदासम्म कसैलाई घर बाहिर निस्कन, आवतजावत गर्न तथा भेला, जुलुस एवं हुलदङ्गा नगर्न आदेश दिइएको छ ।