
काठमाडौं– सरकारले देशभरका ७७ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयहरुलाई प्रदेश मातहतमा रही आफ्नो कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतरबार ७ वटै प्रदेश सरकारलाई परिपत्र गर्दै ७७ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयको कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।
गत साउन एक गतेदेखि लागू भएको स्वास्थ्यको संरचनामा ७ प्रदेशमा ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो । सो संरचना अनुसार प्रदेश नम्बर १, ५ र कर्णालीमा ६–६, प्रदेश नम्बर ३ र गण्डकीमा ५–५ वटा र सुदूरपश्चिम प्रदेशमा ४ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो ।
अघिल्लो पटक बनाइएको संरचनामा विरोध भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ समिति बनाइ नयाँ संरचनाको ढाँचा तयार पारेको छ ।
नयाँ बनेको समितिले ७ प्रदेशका ७७ जिल्लाका लागि ३५ वटा प्रदेश स्वास्थ्य कार्यलयले जनतालाई सेवा पु¥याउन कठिनाइ हुने भन्दै ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने प्रस्ताव समते अघि सारेको छ ।
मन्त्रालयले देशभरका जनस्वास्थ्य कार्यालयका कर्मचारी समायोजन, भौतिक तथा सूचनाजन्य सम्पत्तिहरुको हस्तान्तरण, आर्थिक प्रशासन सम्बन्धी कागजातहरुको व्यवस्थापनका लागि मन्त्रालयले प्रक्रिया शुरु गरेको जनाएको छ ।
नयाँ प्रादेशिक संयन्त्र स्थापना नभएसम्मका लागि ७७ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयहरु प्रदेश सरकारको मातहतमा संचालन हुनेछ ।