०८ असार २०८३, सोमबार

निर्मला हत्या प्रकरणः निलम्बित एसपी विष्टले बुझाए अन्तिम स्पष्टीकरण

कात्तिक ७, २०७५
निर्मला हत्या प्रकरणः निलम्बित एसपी विष्टले बुझाए अन्तिम स्पष्टीकरण

काठमाडौं –कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका छन् ।

गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयलाई निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको थियो । 

प्रहरी प्रधान कार्यालयका अनुसार एसपी विष्टले मंगलवार स्पष्टीकरण सोधिएको पत्र बुझेका थिए । २४ घण्टामा स्पष्टीकरण बुझाउनुपर्ने व्यवस्थाअनुसार विष्टले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् । 

‘गृह मन्त्रालयबाट प्राप्त निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्टलाई सोधेको स्पष्टीकरण प्राप्त भएको छ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदीले लोकान्तरसँग भने, ‘उहाँले बुझाएको स्पष्टीकरण जस्ताको तस्तै गृह मन्त्रालयमा पठाइएको छ ।’

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्राप्त प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले विष्टमाथि छानबिन थालेको थियो । प्रहरी प्रधान कार्यालयले विष्टले नियतवश प्रमाण नष्ट गरेको भन्दै प्रहरी नियमावली अनुसार बर्खास्तगीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पठाएको पत्रअनुसार गृहसचिव प्रेम कुमार राईले आइतवारदेखि निलम्बित एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्तगीको प्रक्रिया अगाडि बढाएका थिए । 

गृह मन्त्रालय स्रोतका अनुसार विष्ट र भट्टले बुझाएको स्पष्टीकरण अध्ययन गरेर मात्रै उनीहरूको बर्खास्तगीको विषयमा निर्णय लिइने छ ।    
 

salt training

कमेन्ट गर्नुहोस्