
दीपिका पादुकोण र रणवीर सिंहको विवाह दिवाली(तिहार) को एक सातापछि हुन लागेको छ ।
१४ र १५ नोभेम्बरमा दीपिका र रणवीरबीच वैवाहिक समारोह हुने छ । त्यसैले बलिउडका यी दुई चर्चित कलाकारको जोडी अहिले फेरि चर्चामा छ । लामो समयको प्रेम सम्बन्धपछि यो जोडी विवाह बन्धनमा बाँधिन लागेको हो ।
उनीहरुको विवाह शुरुमा इटलीमा हुने समाचारहरु सार्वजनिक भएका थिए । तर पछिल्लो विवरणहरुका अनुसार अब विवाह समारोह भारतमा नै आयोजना हुने भएको छ ।
रणवीर र दीपिकाको फ्यान फ्लोइङ ठूलो छ । त्यस्तै दुवैले केही ब्लकबस्टर फिल्म खेलेका छन् । उनीहरु दुबै चर्चामा रहेका र फिल्म क्षेत्रमा क्रियाशिल कलाकार हुन् । उसो भए यी दुई कलाकारमध्ये कसको सम्पत्ति धेरै छ वा को बढी धनी छ ?
पद्मावतमा काम गर्न दीपिकाले सञ्जयलीला भन्सालीसँग १२ करोड भारतीय रुपैयाँ लिएकी थिइन् । त्यसअघि उनले औसतमा प्रतिफिल्मबाट ६ देखि ७ करोड भारु मात्रै लिने गरेकी थिइन् । यस फिल्मपछि उनले हरेक प्रोजेक्टमा कम्तीमा १२ करोडको माग गर्ने गरेकी छिन् ।
उनले विभिन्न कम्पनीको ब्रान्ड प्रोमोसनबाट ५ देखि ७ करोड रुपैयाँ लिने गरेकी छिन् । रणवीरले यस फिल्मबाट ७ देखि ८ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उनले ब्रान्ड प्रोमोसनबाट ३ देखि ४ करोड भारु लिने गरेका छन् । यस हिसावमा रणवीर भन्दा दीपिकाको कमाइ धेरै भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।