
काठमाडौँ– कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण आज गृह मन्त्रालयमा बुझाइएको छ ।
गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयलाई निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको थियो ।
सो अनुसार प्रहरी प्रधान कार्यालयले बिष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टले नियतवश प्रमाण नष्ट गरेको भन्दै प्रहरी नियमावली अनुसार बर्खास्तीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पठाएको पत्रअनुसार गृहसचिव प्रेम कुमार राईले आइतवारदेखि निलम्बित एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्तीको प्रक्रिया अगाडि बढाएका थिए ।
गृह मन्त्रालय स्रोतका अनुसार विष्ट र भट्टले बुझाएको स्पष्टीकरण अध्ययन गरेर मात्रै उनीहरूको बर्खास्तीको विषयमा निर्णय लिइने छ ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले पनि उक्त स्पष्टीकरणमाथि अध्ययन आजदेखि शुरु भएको र कानूनी प्रक्रिया पूरा गरेर बर्खास्ती गर्ने नगर्नेबारे निर्णय लिइने जानकारी दिए ।
मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।