काठमाडौं — क्याम्ब्रिज एनालाइटिका विवादमा उसको भूमिकाका लागि फेसबूकमाथि ७५ करोडभन्दा बढी रुपैयाँको जरिवाना यूके इन्फर्मेसन कमिस्नर्स अफिसले लगाएको छ । उक्त कार्यालयले लगाउने अधिकतम जरिवाना त्यत्ति नै हो ।
मानिसहरूलाई उनीहरूको सम्मति विना नै डाटा प्रोसेसिङ गरेकामा फेसबूकमाथि कार्यालयले जरिवाना लगाएको हो । सन् २००७ देखि २०१४ सम्म करोडौं फेसबूक प्रयोगकर्ताको व्यक्तिगत डाटा थर्ड पार्टी एपहरूले पाउन सफल
भएका थिए । कम्पनीका शर्तहरूले प्रयोगकर्तालाई सुरक्षित पारेका थिएनन् ।
‘फेसबूकले यो काण्डभन्दा पहिले, काण्ड चलिरहेको बेलामा र काण्ड सकिएपछि पनि आफ्ना प्रयोगकर्ताहरूको गोप्यतालाई पर्याप्त रूपमा सुरक्षित पार्न सकेको थिएन,’ इन्फर्मेसन कमिस्नर एलिजाबेथ डेन्हामले बताइन् । ‘यति ठूलो
कम्पनीले यसभन्दा थप राम्रो काम गरेर देखाउनुपर्थ्यो ।’
फेसबूकले यो फैसलाको समीक्षा गर्ने प्रक्रियामा रहेको जनाएको छ । ‘उनीहरूका केही निष्कर्षप्रति हाम्रो विमति छ तर हामीले पहिले पनि क्याम्ब्रिज एनालाइटिकाका विषयमा गरिएका दाबीको अनुसन्धान गर्न थप काम गर्नुपर्थ्यो
भनिसकेका छौं,’ फेसबूकको वक्तव्यमा लेखिएको छ ।
एजेन्सी