
काठमाडौं। हरेक साताको शुक्रबार हलमा २/३ वटा नेपाली चलचित्र प्रदर्शनमा आउनु सामान्य हो । आएनन् भने त्यसलाई अपवाद नै मान्नुपर्छ । यो साताको शुक्रबार (आज) त्यही अपवादमा पर्दै हलमा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएनन् ।
त्यसको कारण हो, प्रदर्शनरत ठूला ब्यानरका दुई चलचित्र । घटस्थापनाको दिनदेखी प्रदर्शनमा आएको ʻछक्का पञ्जा ३ʼ र फूलपातिको दिनदेखी प्रदर्शनमा आएको ʻजय भोलेʼका कारण यो शुक्रबार नयाँ चलचित्र प्रदर्शनमा नआएका हुन । ब्यानरको ब्राण्ड, स्टार कलाकारको अभिनय रहेका कारण चेपुवामा पर्ने डरले कात्तिक ९ गतेलाई निर्माताले प्रदर्शन मिति तोक्न सकेका थिएनन् ।
तेस्रो सातामा प्रदर्शनरत ʻछक्का पञ्जा ३ʼ र दोस्रो सातामा प्रदर्शनरत ʻजय भोलेʼहेर्न हलमा आजसम्म पनि दर्शकको चाप बाक्लै देखिएको छ । प्रदर्शनको तेस्रो सातामा लाग्दा ʻछक्का पञ्जा ३ʼले १३ करोड बढीको व्यापार गरेको छ भने दोस्रो सातामा प्रदर्शनरत ʻजय भोलेʼले ३ करोड बढीको व्यापार गरेको छ ।
यो शुक्रबार नयाँ चलचित्र प्रदर्शनमा नआएपनि आउँदो शुक्रबार भने ठूलै ब्यानरका दुई चलचित्र प्रदर्शनमा आउँदैछन् । ति चलचित्र हुन, रेखा थापाको ʻमालिकाʼ र माधव वाग्लेको ʻचङगा चेटʼ । तर यी चलचित्रलाई पनि ʻछक्का पञ्जा ३ʼ र ʻजय भोलेʼको डर भने पक्कै देखिन्छ ।