
रानी मुखर्जी अभिनीत फिल्म ‘हिच्की’ले चीनमा राम्रो व्यापार गरेको छ । फिल्मले चिनियाँ बजारमा १ सय करोड भारतीय रुपैयाँभन्दा धेरैको व्यापार गरेको हो ।
रिलिज भएको दुई सातामै फिल्मले राम्रो आम्दानी गरेपछि रानी उत्साहित देखिएकी छिन् । ट्रेड एनालिस्ट तरुन आदर्शले भनेका छन्, ‘हिच्कीले चीनमा आश्चर्यजनक व्यापार गरेको छ । फिल्मको कथावस्तु शक्तिशाली भएकाले यसले आजको मिति २५ अक्टोबरसम्म १ सय २ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ ।’
हिच्कीमा रानीले एउटी शिक्षिकाको भूमिका निभाएकी छिन् । ‘टुरेट्ट सिन्ड्रोम’ नाम डिसअर्डरबाट ग्रस्त ती महिलाले समाजमा विभेदको सामना गर्नुपर्छ किनकि, समाजले राम्रो शिक्षिका बन्न सक्छिन् भनेर विश्वास गर्दैन । प्रगतिशील, बहादुर र सकारात्मक सोचकी यी महिला आफ्नो इच्छाप्राप्तिका लागि सधैँ प्रतिबद्ध छिन् । सिद्धार्थ मल्होत्राको निर्देशन रहेको यस फिल्मलाई मनीष शर्माले निर्माण गरेका हुन् । फिल्म गत मार्च २३ मा भारतमा रिलिज भएको थियो ।