
बुटवल – नवसमाजवादी पार्टीको ५ नम्बर प्रदेशका जिल्ला समितिहरू नयाँशक्ति पार्टीमा समायोजन भएका छन् ।
शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी नवसमाजवादी पार्टीका ५ नम्बर प्रदेश संयोजक चेतनारायण पन्थीले वैकल्पिक विचारसहित आर्थिक विकास, समृद्धि, सुशासन र सदाचारको पक्षमा स्पष्ट भिजन भएकाले नयाँशक्ति पार्टीमा प्रवेश गरेको बताए ।
प्रदेशका १२ मध्ये ८ जिल्लाका अध्यक्षसहित सिंगो जिल्ला समिति नयाँशक्तिमा समायोजन भएका र रोल्पा, रुकुम, बर्दिया र दाङ जिल्ला समिति पनि छिट्टै समायोजन हुने प्रक्रियामा रहेको संयोजक पन्थीले बताए ।
पार्टीको केन्द्रीय नेतृत्व र नयाँशक्ति पार्टीबीच विगतदेखि नै एकताको निम्ति छलफल चल्दै आएपनि केन्द्रीय नेतृत्वको व्यक्तिवादी र पुरानै सोंचका कारण एकता हुन नसकेकाले प्रदेशमा समायोजन गरिएको पन्थीले बताए ।
पार्टी समायोजन कार्यक्रममा बोल्दै नयाँशक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नवराज सुवेदीले दुईतिहाई बहुमतको सरकार अकर्मण्य भएको बताए । सरकार गठन हुँदा जनतामा ठूलो अपेक्षा र आशा रहेपनि प्रतिवद्धता र घोषणापत्र अनुसारको काम नगर्दा जनतामा निराशा छाइसकेको बताए । पछिल्लो ३ महिनामा सरकारले ५ प्रतिशत मात्र विकास बजेट खर्च गरेको हिसाबले वर्षभरमा २० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न नसक्ने अवस्था देखिएको नेता सुवेदीले बताए । संघीय सरकारले प्रदेशलाई न्यूनतम आवश्यक कर्मचारी पनि नदिएको र निर्माणमा पनि ढिलाइ गरेर संघीयता कार्यान्वयनमा इमान्दार नदेखिएको नेता सुवेदीले बताए ।
‘अधिकार जति केन्द्रमै मुठ्यार राखेपछि कसरी संघीयता सफल हुन्छ ?’ सुवेदीले प्रश्न गर्दै भने, ‘संघीयताको मर्म भनेको अधिकार तलसम्म बाँड्ने हो ।’ निर्मला पन्त बलात्कार र हत्या, सुन तस्करी लगायतका घटनाबाट सरकारले अपराधी र भ्रष्टलाई जोगाउन खोजेको पुष्टि भएको आरोप लगाए । वर्तमान सरकारबाट सुशासन, विकास र समृद्धि सम्भव नभएको दावी गर्दै उनले अर्को चुनावमा वैकल्पिक शक्ति उदाउने बताए ।