
काठमाडौं– विश्वकपको ट्रफी आइतबार चन्द्रागिरिमा सार्वजनिक गरिएको छ । शुक्रबार नेपाल ल्याइएको ट्रफी आज चन्द्रागिरिमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले सार्वजनिक गरेका हुन् ।
ट्रफीलाई आजै प्रधानमन्त्री र सर्वसाधारणलाई समेत देखाउने कार्यक्रम रहेको छ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने क्रममा नेपाल ल्याइएको हो । शनिबार पोखरामा सार्वजनिक गरिएको ट्रफीलाई भोली वसन्तपुर लगिने कार्यक्रम छ ।
अइसिसीका अनुसार शुक्रबार नेपाल ल्याइएको ट्रफी सोमबार नेपालबाट लगिने छ । ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ ।