२५ असार २०८३, बिहीबार

विराटनगर अस्पतालमा एकैरात दुई बालबालिकाको मृत्यु, लापरवाही गरेको भन्दै आफन्त आक्रोशित

कात्तिक ११, २०७५
विराटनगर अस्पतालमा एकैरात दुई बालबालिकाको मृत्यु, लापरवाही गरेको भन्दै आफन्त आक्रोशित

विराटनगर – विराटनगरमा रहेको विराटनगर अस्पताल प्रा.लि.मा एकैरात २ शिशुको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाही भएको आरोप लगाएका छन् ।

गएराति उपचारका क्रममा सप्तरी र सुनसरीका २ शिशुको मृत्यु भएको हो । गत बुधवार कब्जियतको समस्या देखिएर अस्पताल भर्ना गराएका सुनसरीको देवानगंज गाउँपालिका ५ साहेबगंजका उमेश साहकी २ महिनाकी छोरीको राति अस्पतालको लापरवाहीका कारण ज्यान गएको हो । 

बुधवार अस्पतालका डाक्टर हेम सागर रिमालले २४ घण्टा निगरानीमा राखेर अर्को दिन फिर्ता गर्ने भन्दै अस्पताल भर्ना गराएकोमा बिहिवार सुधारजस्तो देखिएपनि २४ घण्टा आमाको दूध नखुवाउन भनेपछि शुक्रवार बच्चाको रुँदारुँदा आवाज नै गएको मृतक शिशुका बुबा उमेश साहले बताए । 

बच्चाको अवस्था गम्भीर हुँदा पनि अस्पतालका नर्सहरूले अवस्था राम्रो रहेको भन्दै  डाक्टरलाई गलत जानकारी दिने र आफूहरू फेसबुक तथा फोनमा व्यस्त हुँदा शिशुले उपचार नपाएर ज्यान गुमाएको उनको आरोप छ ।

‘आमाको दूध नपाएर शुक्रवारदेखि नै बोली बन्द भएको थियो,' साहले भने, 'त्यही बेला उपचार नहुने भए अन्यत्र लैजान खोज्दा पनि बच्चा लग्न दिएनन् । बच्चा भेट्न जान खोज्दा पनि भित्र जानै दिएनन् ।’

शिशुको आफन्तलाई पनि भेट्न तथा अjस्थाको बारेमा जानकारी लिन नदिएर नर्सहरूले लापरवाही गरेको आईसीयुमा आफ्नो बच्चा लिएर बसेका रंगेलीका अनिल यादवले आरोप लगाए ।

उनका अनुसार नर्सहरूले बच्चा रोइरहँदा पनि ध्यान नदिएको, डाक्टरले फोनमार्फत् जानकारी लिँदा पनि केही वास्ता नगरेको कारण शिशुको मृत्यु भएको हो । डाक्टरको निगरानीमा राख्ने भनेर अस्पताल ल्यायो तर तिनै भित्रका नर्सहरूले लापरवाही गर्दा त्यसै शिशुको मृत्यु भएको उनको आरोप छ । उनको पनि शिशु अहिले विराट नर्सिङ होम (विराटनगर अस्पताल प्रा.लि)मा उपचारको क्रममा रहेको उनले सुनाए । 

गएराति नै अर्को शिशुको पनि ज्यान गएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुरकी नवजात शिशु भूमिका सरदारको शिशुको मृत्यु भएको हो । गत शुक्रवार बिहान शम्भुनाथमै रहेको स्वास्थ्य चौकीमा नर्मल बच्चा जन्मिएको भएपनि त्यहाँका स्वास्थ्यकर्मीले बच्चाको श्वास–प्रश्वासमा समस्या भएकोले अन्यत्र लैजान सुझाव दिएपछि उनीहरूले सोही दिन अस्पतालमा ल्याएका थिए ।

शुक्रवार बिहान जन्मिएको बच्चालाई राति १० बजे अस्पताल भर्ना गरिएकोमा सिधै आईसीयुमा राखिएको र राति मृत्यु भएको मृतक शिशुका बुवा दिपेन्द्र सरदारले बताए । भित्र जान खोज्दा बच्चाको अवस्थाका बारेमा कुनै जानकारी नै लिन नदिई मरेको भन्दै  लैजान भनेको भन्दै उनले अस्पतालले लापरवाही गरेको आरोप लगाए ।

बालबालिकासम्बन्धी हेर्ने डाक्टरले चासो नदिने अनि नर्सहरूले आफू अनुकूलको काम गर्दा शिशुहरूको मृत्यु भएको मृतकका आफन्तको भनाई छ । 

चिकित्सक भन्छन्- एक इञ्चपनि लापरवाही भएको छैन

अस्पतालका डाक्टर हेमसागर रिमालले दुवै बालबालिकाको मृत्यु फरक-फरक कारणले भएको बताए । साहका शिशुको मृत्यु सिजर निमोनियाका कारण भएको डाक्टर रिमालको दाबी छ ।

‘मेरोतर्फबाट एक इन्च पनि लापरवाही गरेको छैन,' उनी भन्छन्, 'राति १२ बजेपनि आएर हेरेको छु । बिहान पनि हेरेको हो । बच्चाको अवस्थाबारे पूरै जानकारी दिएकै हो, त्यसमा उहाँहरूले मन दुखाउनु पर्ने कारण छैन ।’

'स्वभाविक रूपमा आफ्नो शिशु मर्दा सबैलाई पीडा हुन्छ, मेरो पनि उमेश साहजी साथी हो मैले उहाँको शिशुलाई बचाउन नसक्दा मलाई पनि पीडा भएको छ,' उनले भने, ‘बचाउनै नसकिने बिरामी भएकाले कसैको केही लागेन । दूध चुसाउन नदिनुको कारण भनेको बच्चालाई निमोनिया भएकाले हो । बच्चालाई निमोनिया भएको बेलामा दूध चुसाउँदा सर्काउने भएकोले दूध चुसाउन नदिएको हो । यो यहाँ मात्र पनि हैन सबैतिर हुने नै यही हो ।’ 

उता सप्तरीको बच्चाको मृत्यु हुनुको कारण भनेको बच्चा जन्मिएपछि फोहोर खाएको कारणले मृत्यु भएको बताएका छन्  । बच्चा अस्पताल आउँदा नै सिरियस आएको थियो, ल्याउनेबित्तिकै तुरुन्तै भेन्टीलेटरमा हालेर उपचार शुरू गरिएको उनले सुनाए । बच्चाले फोहोर खाएको कारण फोक्सो सेतो भइसकेकाले शिशुको मृत्यु भएको डा. रिमालले बताए ।

अस्पताल ल्याउन नै ढिला भएको उनको भनाइ छ । नर्सहरूमाथि लागेको आरोपका विषयमा भने उनले स्पष्ट जवाफ दिए । सोधपुछपछि मात्र थप प्रतिक्रिया दिन सकिने उनको भनाइ छ ।

 

salt training

कमेन्ट गर्नुहोस्