२३ असार २०८३, मंगलबार

जसले आफूले जागिर खानेभन्दा अरुलाई जागिर खुवाउने सपना देखें

कात्तिक १३, २०७५
जसले आफूले जागिर खानेभन्दा अरुलाई जागिर खुवाउने सपना देखें

सुर्खेत– अहिलेका युवाहरूमा अध्ययन गरिसकेपछि जागिर खोज्ने बानी नै परेको छ । अधिकांश युवाहरू अध्ययन सकेर खाडी मुलुकमा जागिर खोज्न लाइन लागिरहेका बेला दैलेखका एक युवाले उदाहरणीय कार्य गरेका छन् ।

स्थायी घर दैलेख भएका युवा राजेन्द्र विष्टले वायो केमेष्ट्री अध्ययन गरेर वीरेन्द्रनगरको वडा नं. ६ मा सुर्खेत वायोकेमिकल एण्ड हाइजेनिक इण्डष्ट्रीको स्थापना गरी विभिन्न सरसफाइका लागि केमिकल पदार्थहरू उत्पादन गर्दै आइरहेका छन् । उनको उद्योगमा ट्वाइलेट क्लिनर, ग्लास क्लिनर, वाईक र कार वास क्लिनर, ह्याण्ड वास, डिस वास, हरपिकजस्ता केमिकलहरु उत्पादन गरिँदै आइएको छ । 

हाल उनको उद्योगमा ९ जना कार्यरत रहेका छन् । चामुण्डा विन्द्रासैनी वडा नं. ६, सिरौल स्थायी घर भएका राजेन्द्र विष्टले वायो केमेष्ट्रीमा एमएसी गरेका छन । उनले भारतको देहरादुन स्थिति एचएमवी गढवाल केन्द्रीय विश्वविद्यालयबाट मास्टर्स गरेका हुन् । २०१६ मार्चमा स्थापना गरिएको उनको कम्पनीबाट उत्पादित सामाग्रीहरू कर्णाली प्रदेशभरी र पाँच नम्बर प्रदेशको बुटवलसम्म पुग्ने गरेको छ ।

उनको व्यापार मासिक रुपमा पाँच लाख रुपैयाँभन्दा बढिको हुने गरेको छ । सो रकम मध्ये सबै घटाएर उनको मुनाफा ६० हजार रुपैयाँ  छ । उनलाई भारतबाट आयात गरिएको केमिकलहरुसँग प्रतिस्पर्धा गर्न सजिलो लाग्छ । किनभने उनीहरुले क्वालीटि मेन्टेन गरेका हुन्छन् । 

तर, काठमाडौं र वीरगंजबाट आउने केमिकलहरु न क्वालीटिका हुने, न त दर्ता भएर बनाइएको हुने हुँदा यहाँका पसलमा सस्तोमा दिने हुँदा कहिलेकाँही आफूलाई अलिकति गाह्रो हुने गरेको अनुभव उनले लोकान्तरसँग सुनाए । यसअघि भारतबाट मात्रै आयात हुने गरेका ती सामाग्रीहरूलाई सभिन व्राण्डले विस्थापित गर्दै गइरहेको छ ।

उनले नेपाली उपभोक्ताहरुले नेपालमै बनेको गुणस्तरीय सामाग्रीहरु प्रयोग गर्ने क्रम बढेको आफूले पाएको बताए । ‘शुरु शुरुमा हाम्रो उत्पादनहरू बजारमा विक्री गर्न अलि असहज नै हुने गरेको थियो ।’ उनले भने, ‘तर अहिले कर्णालीका र बुटवलका व्यापारी र उपभोक्ताले हाम्रो व्राण्ड नै खोज्ने गरेका छन् ।’ उनले नेपाली सामाग्री प्रयोग गरेको खण्डमा देशकै ढुकुटी बलियो हुने भन्दै सस्तो र गुणस्तर नभएका सामाग्रीले सबैलाई क्षति पुयाउने बताए ।

सुरुवातमा रु नौ लाख रकम लगानी गरेका विष्टले अहिलेसम्म आइपुग्दा रु ४० लाखभन्दा बढीको लगानी गरिसकेका छन् । उनको उद्योगले दैनिक रुपमा १५ सय लिटर केमिकल उत्पादन गर्ने गरेको छ । उनको कम्पनीले उत्पादन गरेका केमिकलहरूको मूल्य भारतबाट आयात गरिएकोभन्दा ३५ प्रतिशत सस्तो छ । 

भारतबाट आयात गरिएको हरपिक (ट्वाईलेट क्लिनर) रु १३० पर्छ भने सभिन व्राण्डको त्यहि गुणस्तरको हरपिक किन्दा १०० रुपैयाँ पर्ने गरेको छ । ‘हरेक सामानमा हामीले कम मूल्य राखेका छौं ।’ उनले भने, ‘त्यसैले पनि हामीले गुणस्तर कायम राख्दै बजार बढाउँदे लिएका छौं ।’ उनले यस्तै उद्योग बुटवल र काठमाडौंमा खोल्ने तयारी गरेको बताए ।

‘देशैभरी सभिन व्राण्डलाई स्थापित गर्ने योजनाका साथ नेपालका अन्य स्थानमा पनि उद्योग खोल्ने योजना बनाएको छु ।’ लोकान्तरसँग कुराकानी गर्दै सञ्चालक विष्टले भने, ‘देशैभरमा केमिकलमा सुभिन व्राण्डले स्थान लेओस र अन्य देशबाट आयात गर्न नपरोस भन्ने मेरो मुख्य चाहना हो ।’

शुरुमा ६ वर्ष  वीरेन्द्रनगरमा विभिन्न विद्यालयमा विज्ञान विषय अध्यापन गराएका उनले आफूले सिकेको सीप अनुरुप नै काम गर्दा बढी फाइदा हुने देखे । ‘विज्ञान विषय लिइ मास्टर्स गरेकाहरू पनि लोकसेवाको खरिदार र सुब्बामा जागिर खान लाइन लागेको मैले देखें ।’ उनले भने, ‘या त उनीहरु कुनै राजनीतिक दलको पछि लागेर शिक्षण संस्थामा जागिर खानको लागि लाइन लागेको देखें ।’ उक्त लाइन देख्दा र सबैको पहुँच नभएका कारण विदेश गएको पनि देखेका उनले आफैंले केहि गर्ने निष्कर्षमा पुगेको बताए । 

‘मैले अरुले जस्तै गरि जागिर खानु भन्दा अरुलाई जागिर खुवाउने सपना देख्न थालें ।’ उनले भने, ‘त्यहि सपनाका कारण आज म यहाँ आएको छु । म देशका लागि केहि गर्न चाहनछु ।’
 

salt training

कमेन्ट गर्नुहोस्