
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।
महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापतिको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।
बैठकले भक्तपुर कांग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौं कांग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर कांग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ ।
त्यस्तै भक्तपुर कांग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ ।
आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय गरिएको उनले बताए । कांग्रेस केन्द्रीय कार्यसमितिकोे गत भदौ ९ गतेको बैठकले महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
सोही बमोजिम कांग्रेसले महासमितिको बैठक काठमाडौंको भृकटीमण्डपमा गर्ने निर्णय गर्दै तयारीलाई तीव्रता दिएको छ ।