१० साउन २०८३, आइतबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे कालोपत्रे शुरू, ६ महिनाभित्र सञ्चालन गर्ने लक्ष्य

कात्तिक १३, २०७५
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे कालोपत्रे शुरू, ६ महिनाभित्र सञ्चालन गर्ने लक्ष्य

बुटवल – राष्ट्रिय गौरवको आयोजनाका रूपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउने गरी धावनमार्ग (रनवे) कालोपत्र गर्ने कार्य शुरू भएको छ । सन् २०१९ को जुलाई १६ अघि नै विमानस्थल सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ ।

विमानस्थलमा रहेको तीन किलोमिटर ‘रनवे’ को सब बेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले पिचको काम शुरू गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले धावनमार्ग पिच गर्ने कार्यको उद्घाटन गर्दै विमानस्थलबाट ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दाबी गरे । ‘रनवे पिचको काम ६ महिनाभित्र पूरा गर्न आयोजनालाई निर्देशन दिँदै अधिकारीले भने, ‘त्यसपछि विमानस्थनमा सञ्चालनमा आउँछ ।’ 

समय–समयमा विभिन्न अवरोध आएपनि हालसम्म विमानस्थल निर्माणको ५५ प्रतिशत काम सम्पन्न भएको छ । पछिल्लो समय विमानस्थलको निर्माणको काममा तीव्रता आएको छ । 

कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडीबीको ५४ करोड रुपैयाँ अनुदान सहयोग छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । 

विमानस्थल निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले लिएको छ । विमानस्थल निर्माण कार्यअन्तर्गत अहिले निर्माण भइरहेको रनवे १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुवै किनारमा १५÷१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो रनवे को दुवैतिर ३ ३ सय÷३ सय मिटर विमान सुरक्षाका लागि रन वे एन्ड सेफटी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ ।

६ महिना होइन चार महिनामा पिच पूरा गर्छौंः आयोजना

पिचको काम ६ महिना नभएर ४ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको जानकारी आयोजनाका निमित्त प्रमुख इञ्जीनीयर प्रवेश अधिकारीले जानकारी दिए ।

६ महिनापछि विमानस्थलको रनवे सकिएपछि आन्तरिक उडान शुरू हुने जानकारी निमित्त प्रमुख अधिकारी दिए । आन्तरिक उडानपछि सबै प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय उडान शुरू गर्ने उनले प्रतिवद्धता जनाए ।

मन्त्री अधिकारीले थाइल्याण्ड लगायतका धेरै देशले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थनमा आउन इच्छा देखाएकाले सरकारले पनि सोही अनुरूप नयाँ सम्झौता यस विमानस्थलकै लागि भनेर गर्न पहलकदमी अघि बढाएको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न सरकारले प्रक्रिया अघि बढाएकाले अब जतिसक्दो छिटो भैरहवामा अन्तर्राष्ट्रिय उडान हुन र निर्माण कार्य पूरा गर्न आयोजनालाई दबाब रहेको जानकारी दिए ।

गौतमबुद्ध विमानस्थलप्रति अन्तर्राष्ट्रिय स्तरको चासो धेरै देखिएको भन्दै मन्त्री अधिकारीले ९ देखि १० वटा ठूला विमान अट्ने पार्किङ निर्माण गर्न लागिएको बताए ।

हवाइ रुटको जानकारी दिने क्रममा बोल्दै मन्त्री अधिकारीले ४ वटा हवाइ रुटमा सम्झौता गर्न वार्ता हुने क्रममा रहेको बताए । अधिकारीका अनुसार सुरक्षाको दृष्टिकोणले गर्दा भारतले महेन्द्रनगर र नेपालगञ्जको रुट दिन नमानेको तर सरकारले ती दुईटा रुट नभए भैरहवाको रुट मागेको छ । 

रुटका कारण अन्तर्राष्ट्रिय उडानमा ढिलाइ नहुने बताउँदै अधिकारीले निर्धक्क हुन आग्रह गरे । अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । 

विमानस्थलको शिलन्यास तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले २०७१ मा गरेका थिए । तीन वर्ष अर्थात् २०७४ पुस मसान्तभित्र निर्माण सक्ने लक्ष्य राखिएको थियो । तर मधेश आन्दोलन, नाकाबन्दी र ठेकेदारको आन्तरिक कलहले  आयोजना निर्माणमा ढिलाइ भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्