
काठमाडौं — भारतको छत्तीसगढमा माओवादी प्रभावित दन्तेवाडामा माओवादीहरूको आक्रमणमा सुरक्षाबलका दुई जवान सहित दूरदर्शनका एक क्यामराम्यानको मृत्यु भएको छ ।
दुई अन्य सुरक्षाकर्मी घाइते भएका छन् ।
नक्सल अपरेसनका डीआईजी सुन्दरराज पीका अनुसार, दन्तेवाडाबाट लगभग ३० किलोमिटर टाढा अरनपुरमा माओवादीहरूले एम्बुश थापेका थिए । त्यसैमा परी दुई सुरक्षाकर्मी र दूरदर्शनका क्यामराम्यान मारिएका हुन् ।
यो टोली मोटरसाइकल चढेर गइरहेको सुन्दरराजले बताए ।
मारिएका सुरक्षाकर्मी सबइन्स्पेक्टर रुद्र प्रताप, सहायक आरक्षक मंगलू र क्यामराम्यान अच्युतानन्द साहू हुन् ।
क्यामरामन साहू उडिसामा बस्थे ।
दूरदर्शनले छत्तीसगढमा चुनावको कभरेज गर्नका लागि एक क्यामरा टीम तैनाथ गरेका थिए । त्यस टीममा साहू, रिपोर्टर धीरज कुमार र सहायक मोरमुक्त शर्मा पनि थिए ।
एक हप्ताअघि मात्र माओवादीहरूले एउटा पत्र जारी गरेर बस्तरको कुनै पनि भागमा रिपोर्टिङका लागि पत्रकार आउन सक्ने जानकारी दिएको थियो । उनीहरूलाई रोकतोक नगरिने माओवादीका भनाइ थियो ।
बीबीसी हिन्दीबाट