१९ असार २०८३, शुक्रबार

बलियो राष्ट्रवादी शक्ति बनाउने भन्दै पूर्वपञ्चबीच एकताको गृहकार्य

कात्तिक १४, २०७५
बलियो राष्ट्रवादी शक्ति बनाउने भन्दै पूर्वपञ्चबीच एकताको गृहकार्य

काठमाडौं– मुलुकमा ‘परम्परागत बलियो राष्ट्रवादी शक्ति’को स्थापना गर्ने भन्दै पूर्वपञ्चहरुको पार्टी राप्रपाका तीनवटा घटकबीच एकीकरणको गृहकार्य शुरु भएको छ । पटक–पटक टुटफूट र जुट व्यहोरेका पूर्वपञ्चहरुको पार्टीमा एकतालाई लागि गृहकार्य तीब्र भएको छ । 

राप्रपा अध्यक्ष कमल थापा र राप्रपा लोकतान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाबीच पछिल्ला केही दिनमा पटक पटक छलफल भएको छ । डा. प्रकाशचन्द्र लोहनीको पार्टीसँग पनि छलफल भइरहेको राप्रपा स्रातले बतायो । 

२०७३ फागुनमा तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता महाधिवेशन भएपनि २०७४ साल भदौमा राप्रपामा पुनः विभाजन आएको थियो । कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोहनी भने एकता महाधिवेशन भएको एक महिनामै अलग्गिएका थिए ।  

राप्रपा प्रचार विभाग प्रमुख महोन श्रेष्ठले सैद्धान्तिक रुपमा स्पष्टता भएमा पार्टी एकताका लागि आफूहरु खुल्ला रहेको बताए । ‘अध्यक्षद्वयबीच विभिन्न चरणमा छलफल भएको छ । तिहार लगत्तै घनिभूत छलफल हुन्छ’ थापा नेतृत्वको राप्रपाका एक नेताले भने, ‘एकता महाधिवेशनले पारित गरेको एजेण्डामा टेकेर जानुपर्छ भन्ने हाम्रो अडान छ ।’ 

गतवर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा व्यहोरेको पराजयका कारण राणा समेत एकताका लागि तयार भएको एक नेताले बताए । ‘उमेर र स्वास्थ्यका कारण पनि पशुपतिशमशेर पार्टी एकताका लागि लचक हुनुहुन्छ’ एक नेताले भने । प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले झापामा १ सिट जितेको थियो । 

प्रदेश सभामा समानुपातिकबाट राणा समूहका एक सदस्य छन् । राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकासहित केही स्थानीय तहमा चुनाव जितेको थियो । 

राणा समूहको राप्रपा प्रजातान्त्रिकका सहप्रवक्ता किरण गिरीले पनि एकताका लागि गृहकार्य भइरहेको बताए । ‘देशलाई वलियो राष्ट्रवादी शक्तिको आवस्यकता महसुश गरिएकोले परम्परावादी राष्ट्रवादी शक्ति एकजुट भएर जानु पर्ने भन्ने अवस्था महसुश भएकोले एकताका लागि छलफल भइरहेको छ’ गिरीले लोकान्तरसँग भने । 

नेताहरुका अनुसार अहिलेसम्म सांगठानिक कुरामा मिल्न सकेको छैन । 

राणा र थापाबीच पार्टी एकताको विषयमा भएको छलफल सकारात्मक रहेको भएपनि लोहनीले भने थापालाई नेता स्वीरकार गरेर पार्टी एकतामा नजाने लोहनी निकटका एक नेताले बताए ।

राप्रपा मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि २०४७ साल जेठ १५ गते स्थापना भएको पार्टी हो । तत्कालीन समयमा परिवर्तित राजनीतिक प्रणालीमा देशलाई एउटा वैकल्पिक शक्ति स्थापना गर्न पञ्चायत पृष्ठभूमिमा बसेर राजनीति गरेका नेताहरुको सहभागितामा नयाँ धारका रुपमा सो दल स्थापना भएको थियो । 

पछिल्लो पटक राप्रपा नेपाल र राप्रपाको एकीकरण हुँदा राप्रपा तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी थियो । पार्टी नेतृत्वले एकता अधिवेशनमा गरेका प्रतिबद्धता विपरीत नेतृत्व व्यक्तिगत स्वार्थमा केन्द्रित भएको र अध्यक्ष थापा अवसरवादी बन्दै सरकारमा सामेल भएको भन्दै चौँथो दिनमै वरिष्ठ नेता लोहनीले पार्टी परित्याग गरेपछि समस्या बढ्दै गएको थियो । 

लोहनीले पूर्व मन्त्री केशर विष्टसंग सहकार्य गरी २०७३ मंसिर १७ मा एकिकृत राप्रपा राष्ट्रवादी गठन गरी अध्यक्ष बनेका छन् ।

स्थानीय तहको चुनावपछि राणाको समूह पनि संस्थापन राप्रपाबाट फुटेर गत साउन २४ मा राप्रपा प्रजातान्त्रिक गठन गरी अध्यक्ष बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्