
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरले शुक्रबार १० बजे जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यस्थिती सामान्य रहेको उल्लेख छ ।
छातीमा सङ्क्रमण भएपछि सोमबार प्रधानमन्त्री ओलीले अस्पताल भर्ना भएका थिए । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आज विहान गरिएका परिक्षणका रिपोर्टहरू पनि सामान्य रहेको उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले आज चिकित्सकहरुको बैठक बसेर डिस्चार्जबारे निर्णय लिने कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । निर्णय लिन दिउँसो दुई बजेपछि बैठक बस्ने भएको छ । डा.श्रेष्ठले भने, “प्रधानमन्त्रीज्यू पहिलेको जस्तै अवस्थामा आउनुभएको छ, तर आज या भोलि डिस्चार्ज गर्ने भन्नेबारेमा अहिले निर्णय भइसकेको छैन ।”
ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न छ ।