१४ असार २०८३, आइतबार

किसानद्वारा कृषि मन्त्रालयमा नाराबाजी, कृषि सामग्री कम्पनीमा तालाबन्दी

कात्तिक १६, २०७५
किसानद्वारा कृषि मन्त्रालयमा नाराबाजी, कृषि सामग्री कम्पनीमा तालाबन्दी

धनगढी– रासायनिक मलको चरम अभाव सिर्जना भएपछि आक्रोशित किसानहरु सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडी आज (शुक्रवार) नाराबाजी गरेका छन् ।

प्रदेशस्थित विभिन्न जिल्लाबाट आएका किसान तथा कृषक सहकारीका प्रतिनिधिहरुले मलको सहज आपूर्ति गर्नु पर्ने, धानको खरिद गर्नुपर्ने लगायत माग राख्दै नाराबाजी गरेका हुन् । यसैबीच किसानहरुले मन्त्रालयका उपसचिव यज्ञप्रसाद जोशीमार्फत भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै उपसचिव जोशीले आफुहरु किसानको समस्याप्रति गम्भिर रहेको दाबी गरे । तर, संघीय सरकार मातहत रहेका कृषि सामग्री कम्पनीले मल ढुवानीमा र खाद्य संस्थानले धान खरिदमा गरेको ढिलाइले किसानलाई सास्ती भएको बताउँदै उनले आफूहरुको भूमिका समन्वयकारी मात्रै रहेको पनि जिकिर गरे । 

दिगो सामुदायिक तथा वातावरण संक्षण सहकारी संस्था पहलमानपुर कैलालीका सचिव इन्द्रलाल भण्डारीले आफूहरु १५ दिनदेखि मल खरिदको लागि कृषि सामग्रीलाई रकम भुक्तानी गरे पनि मल नपाएको बताए । दैनिक सयौं किसानहरु सहकारी धाइरहेको बताउँदै उनले मल नपाउँदा किसानहरुलाई रित्तै हात घर फर्काउनुपर्ने बाध्यता रहेको सुनाए ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–१४ फूलबारीको कुटो कोदालो आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद शर्माले हिउँदे सिजनको समय सकिनै लाग्दा पनि मल उपलब्ध गराउने विषयमा सरकार गम्भीर नभएको गुनासो गरे । हाल मल उपलब्ध नगराए एक महिनापछि मल उपलब्ध गराउनुको कुनै औचित्य नहुने उनको भनाइ छ ।

किसानहरुले मलको बिक्रि वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीमा तालाबन्दी समेत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा हाल रासायनिक मलको चरम अभाव सिर्जना भएको छ भने खाद्य संस्थानले धान खरिद नगर्दा किसानहरुले सस्तो मूल्यमा ब्यापारीकोमा धान बिक्रि गर्न बाध्य भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्