चितवन, ३० मङ्सिर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन् ।

नेपाली कांग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को आज उद्घाटन गर्दै सभापति देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको स्पष्ट गरे ।
देउवाले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताए । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उहाँले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने उल्लेख गरे ।
सभापति देउवाले भने “अब यसलाई कसैले टारेर टर्दैन ।” स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन सकेर राष्ट्रिय सभा र राष्ट्रपतिको निर्वाचन हुन्छ ।
नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरे अनुरुप नै सीमाङ्कन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको उनले स्पष्ट पारे ।
एमालेले प्रस्ताव पास हुने डरले संसद् चल्न नदिएको र जनता उचालेको उनको भनाइ थियो । सभापति देउवाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै भने “काँग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।”