२६ असार २०८३, शुक्रबार

तिहारमुखी बन्यो कुमालको पुर्ख्यौली पेशा : अहिले व्यस्तता, पछि बिक्दैनन् माटाका भाँडाकुडा

कात्तिक २०, २०७५
तिहारमुखी बन्यो कुमालको पुर्ख्यौली पेशा : अहिले व्यस्तता, पछि बिक्दैनन् माटाका भाँडाकुडा

धनगढी –हिन्दू धर्मबलम्वीको घर आगनमा तिहार भित्रिएसंगै माटाका सामग्री बनाउने कुमाल समुदायको व्यस्तता निकै बढेको छ ।

पछिल्लो समय बजारमा आएका विभिन्न धातु तथा प्लाष्टिकका भाँडाले माटाको सामग्री बनाउने समुदायको पेशा लोप हुँदै गएपनि तिहारमा भने व्यस्तता बढ्ने गर्छ । माटो मुछ्ने, चाका घुमाइ–घुमाइ विभिन्न आकार प्रकारका कलात्मक भाँडाकुडा बनाउने नै उनीहरूको आजभोलिको प्रमुख दिनचार्य हो ।

विशेषतः आजभोलि तिहारमा चाहिने माटोको दियो बनाउनमै उनीहरू व्यस्त छन् ।

कैलालीको कैलारी गाउँपालिका–६ जमुनीपुरका सीताराम कुमालले तिहार आफूहरुको मुख्य सिजन भएको बताए । माटोका सामग्री बनाउने, आगोमा पोल्ने र बिक्री वितरण गर्नमै अधिकांश समय बितिरहेको उनले बताए ।

दशैं र दिपावलीको अवधिमा कैलाली–कञ्चनपुरमा बसोबास भएका कुमालहरूले थारु समुदायको माटोको कुल देवता स्वरूप घोडाघोडी, भेडाको मुर्ती, रक्सी बनाउन प्रयोग हुने डोरिया, पूजाको लागि चाहिने दिउली तथा घोचिया (दियालो) बढी मात्रामा बनाउने गर्दछन् । साथै पानी खान प्रयोग हुने करुवा, पानी राख्ने गाग्रोलगायत सामग्री पनि बनाउँदै आएका छन् ।

दशैं र दिपावलीको अवधिमा हुने कारोबारबाटै आफूहरूको जीविकोपार्जन हुँदै आएको जमुनीपुरका टीकाराम कुमालले बताए । एक सिजनमा २०/२५ हजार बराबरको कारोबार हुने गरेको उनको भनाइ छ ।

माटाका सामग्री शहर बजारमा नगद खरिद बिक्री भएपनि ग्रामीण भेगमा भने जिन्सी वस्तुसँग समेत साटफेर हुने गरेको छ । सीताराम कुमालका अनुसार चामल, धान, गहुँलगायत जन्सी वस्तुबाट यसको साटफेर हुने गर्छ ।

बजारमा आएका प्लाष्टिक तथा धातुका सामग्रीले संकटमा रहेको उनीहरूको पेशामा आजभोलि भने सहज रूपमा माटो नपाइनु र भाँडाकुडा पकाउन दाउरा उपलब्ध नहुनुले अझ समस्या थपिएको छ ।

‘हामी विवश भएका छौं, हाम्रो पेशा माटो र जंगलसंग गाँसिएको छ । सहज रूपमा माटो र दाउरा नपाएर आजभोलि बेसर्मा घाँसपात, भुसालगायतले पनि भाँडा पकाउने काम गछौं’, सीताराम कुमाले भने– ‘जसका कारण जीविका धान्न पनि अप्ठ्यारो भएपछि पेशाबाट विस्थापित हुँदै गएका छौं ।’

माटो र दाउराबापत चर्को दरमा रोयल्टी तिर्नुपर्ने बाध्यता उनले सुनाए ।

परम्परागत पेशाबाट जीवन धान्न अप्ठ्यारो भएपछि फर्निचरको काम समेत गर्दै आएका सीताराम कुमालले आफ्नो बस्तीका दर्जनौं यूवाहरू भारत पलायन भएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्