२४ जेठ २०८३, आइतबार

असी काटेका जगन्नाथ, दोहोरीमा नाच्न हुरुक्कै

असी काटेका जगन्नाथ, दोहोरीमा नाच्न हुरुक्कै

उमेरले असी पुग्न अब एक वर्ष बाँकी छ । तर उनको जोश भने अझै उस्तै छ । कतै लोकगीत कार्यक्रम छ भने उनी नाच्न पुगिहाल्छन् । तीतो सत्य, मेरी बास्सै लगायतका दर्जनौं सिरियलमा अभिनय गरिसकेका छन् । तर धेरैका लागि उनी अझै अपरिचित छन् ।

काठमाडौंको भृकुटीमण्डपमा पाँच दिनसम्म चलेको अन्तर स्तरीय दोहोरीमा उनी पाँचै दिन उपस्थित थिए । नाच्ने बेला भयो कि उनी बसेको ठाउँबाट जुरुक्क उठ्थे अनि नाच्न थाल्थे । पन्ध्र वर्षीय युवतीदेखि अधबैंशे महिलासँग उनी पालैपालो नाचिरहेका हुन्थे ।

काठमाडौंको जोरपाटीमा जन्मेर यतै हुर्केका जगन्नाथ भण्डारी सानैदेखि नै नाच्न भनेपछि हुरुक्कै हुन्थे । कतै बाजा बज्यो कि उनी नाच्न पुगिहाल्थे । त्यतिबेला मादल बाहेक वाद्यवादनका खासै सामग्री थिएनन् । मादल बज्यो कि उनी दगुरिहाल्थे ।

‘नाच्नु मेरो मनको रहर हो कि जस्तो लाग्छ । रमाइलो गर्न त के कुर्नुप–यो र ? सोह्र वर्षे तरुनीले आउनुस् बा भनेपछि नाच्न परिहाल्यो,’ उनी हाँस्दै सुनाउँछन्, ‘नराम्रो काम पो गर्न भएन, नाच्न त के हुन्छ र?’
उनी आफ्ना झर्न लागेका दाँत देखिने लामो हाँसो हाँस्छन् ।

नेपाल वायुसेवा निगममा पैंतीस वर्ष जागिर खाँदा उनले नाच्न शुरु गरेका थिए । त्यस समयमा उनलाई काम बढी हुन्थ्यो । जागिरकै सिलसिलामा विभिन्न देश घुम्ने अवसर पनि पाए । थोरै धेरै आफूले कमाएर आफ्ना तीन छोरा र एक छोरीलाई हुर्काए ।

‘त्यतिबेला सर्वस्व सस्तो थियो । मेरै छोराहरूले एक मोहोर दिँदाखेरी टन्न खाजा खाएर आयौं भन्थे ।’ उनी २०३० सालतिरको आफ्नो सयमलाई स्मरण गराउँदै सुनाउँछन् ।
अर्थात्, त्यतिबेला बाँच्न सजिलो थियो ।

गीतका म्युजिक भिडियो, सिरियल तथा चलचित्रमा समेत अभिनय गरेको बताउने भण्डारी आफूले नेपालमा शूटिङ भएका केही हिन्दी चलचित्रमा समेत सामान्य भूमिकामा अभिनय गरेको बताउँछन् । ‘जमानामा शूटिङ भएको अभिताभ बच्चनको चलचित्र ‘महान’मा पनि मैले अभिनय गरेको थिएँ,’ उनी थप्छन्, ‘भक्तपुरमा शूटिङ हुने प्रायः चलचित्रमा अभिनय गरिन्थ्यो ।’

नाच्नकै लागि जन्मेको हुँ कि भन्ने पनि लाग्छ कहिलेकाहीँ उनलाई । लोकसंगीतका धेरैजसो कलाकारले उनलाई चिनेका छन् । कतै कार्यक्रम भइहाल्यो कि फोन गरेर आग्रह गर्छन्, ‘बा, तपार्इं आइदिनुप–यो ।’
आफूले इष्टकोटको खल्तीमा राखेको फोटोसहितको प्रवेश पास देखाउँदै उनी भन्छन्, ‘नबोलाइकन त कहाँ आएको हुँ र ? बोलाएर नै आएको हुँ नि ।’

‘लभ भन्या कस्तो कस्तो, अंगालो हालेर हिँडेजस्तो,’ उनी आजको युवापुस्ताका बारेमा सुनाउँदै भन्छन्, ‘हाम्रो पालामा लभ भन्ने पैसाले किन्न पर्दैनथ्यो ।’

जमानाको जस्तो जोश त अहिले कहाँ हुन्छ र ? तर पनि नाच्दानाच्दै मर्न पाऊँ भन्छन् उनी ।
‘यसरी नाच्छु र त सबैले माया गर्छन् ।’

आफू अझै पनि यसरी नाच्दा नथाक्नुको कारण ‘भगवानको देन’ हो भन्छन् उनी । ‘जबसम्म चन्द्र सूर्य हुन्छन्, तबसम्म भगवान हुन्छन्,’ उनी थप्छन् । यही सक्रियताका कारण भण्डारी स्वस्थ छन् र नाच्न सकेका छन् ।
खाना नक्कली, मान्छे नक्कली, बोली पनि नक्कली । अहिलेको युगलाई यसरी बुझेका छन् भण्डारीले । तर पनि उनलाई आफ्ना छोराछोरी तथा परिवार र उनलाई चिन्ने नेपालीको मायाको भने कमी छैन ।

२००६ सालमा राणा शासन हटाउनका लागि उनी काठमाडौंमा नाराबाजी गर्थे । त्यतिबेलाका नाराबाजी हुन्थे :

मोहन शमशेर मूर्दाबाद
मोहन शमशेर आर्यघाट
राजगद्दी तोडिदे
मोहन शमशेर छोडिदे ।

चावहिलतिर नारा लगाउँथे उनी अनि दगुर्थे । प्रहरीले समात्यो भने थुनिदिन्थ्यो । कत्तिलाई मारिदिन्थ्यो पनि ।
एउटा युग भोगेका भण्डारीसँग अझै पनि उही जोश छ । आफ्नो बाल्यकालमा आन्दोलन गर्न गएझैं अहिले नाच्न पुगिहाल्छन् । उनी जिन्दगी रमाइलो गरी बिताउनुपर्छ भन्छन् । जवानीको जोश बुढेसकालमा नभएपनि जवानीको हुटहुटीले उनलाई बुढेसकालमा पनि रमाइलो बनाइरहन्छ । भन्छन्, ‘तन मात्र बूढो भएको हो । मन त कहाँ बूढो भएको छ र ?’

salt training

कमेन्ट गर्नुहोस्